आफ्नो करिअर बनाउने र धेरै पैसा कमाउने निहुँमा हजारौं महिला कार्यक्षेत्रमै यौन हिंसामा परेका छन्। कसैले खुलेर विरोध गर्छन् तर कोही भने चुपचाप सहेर सुन्दर भविष्यको कल्पनामा आफू माथिको हिंसालाई सहज रुपमा लिन बाध्य हुन्छन्।
‘एनजिओमा केटी मान्छेलाई हायर गर्ने निहुँमा सेक्स टोय बनाउँछन्।’ सुदूर पश्चिम जाने समयमा एउटा साथीले यस्तो कुरा सुनाएर मेरो पाइला रोक्न खोजेको थियो।
१५ महिनाअघि म पनि सुदूरपश्चिमको कञ्चनपुरमा जिल्ला समुदायिक विकास सहजकर्ताको रुपमा नाम चलेकै संस्थाको जीविकोपार्जन तथा सशक्तिकरणको तीनवर्षे परियोजनामा चुनिएँ। गरिब, दीनदु:खी, अपांग र असहायको सेवामा मेरो पहिलेदेखि नै रुचि थियो। धेरै प्रतिस्पर्धीबाट छानिएको थिएँ म।
एनजिओको जागिर पाउँदा खुसी लागेको थियो। त्यसमा पनि नयाँ गाउँ समुदाय र नयाँ कामले झनै खुसी थपिएको थियो।
घरमा ५० वर्षकी एकल आमालाई छोडेर म आफ्नो सुनौलो भविष्यको कल्पना गर्दै प्रथम पटक काठमाडौं छोडेर त्यति टाढा गएको थिएँ। छोरीको भविष्यमा आँच आऊला कि भन्ने सोचेर हुन सक्छ, आमाले नजा भन्न सक्नुभएन। बुवा समानका ‘कन्ट्री डिरेक्टर’ र सहयोगी सहकर्मीका कारण काममा त्यति गाह्रो महसुस गर्नुपरेन।
दिनहरु बित्दै गए। सहजकर्ताको रुपमा काम गर्नुपर्ने हुँदा जिल्लामा रहेका ‘स्टेक होल्डर’हरुसँग सम्बन्ध बिस्तार हुँदै थियो। जिल्ला प्रशासन, जिल्ला शिक्षा, नगरपालिका, जिल्ला कृषि, सहकारी डिभिजन कार्यालय, विभिन्न संघसंस्था, जिल्ला जनस्वास्थ्य कार्यालय, हेल्थपोस्ट जस्ता विभिन्न कार्यालयसम्मको सम्बन्ध राम्रै थियो। आफ्नो काम पूरा जिम्मेवारीका साथ निभाइराखेको थिएँ।
म २५ वर्षकी अविवाहित थिएँ। कामको सिलसिलामा धेरै मानिसहरु सम्पर्क र संगत गर्नुपर्थ्यो। मेरो काममा कुनै कमी नआओस् र सहजताको साथ होस् भन्ने हेतुले सबैसँग सुमधुर सम्बन्ध राखेँ। कुनै दिन नराम्रो बोलिनँ। संस्थासँग आफ्नो नाम जोडिएको कारणले कतिपय आवस्थामा रिस उठे पनि चुपचाप लाग्नुपर्ने हुन्थ्यो। संस्थाकै कारण मैले धेरै इज्जत पनि पाएको थिएँ।
प्रसंग महिला हिंसाकै।
मैले काम गर्ने परियोजनामा महिला कर्मचारी म मात्र थिएँ। पहिलो कामको अवसर भएको कारण खासै कामको अनुभव थिएन। नजानेका कुराहरुमा सहकर्मीहरुसँग सहयोग माग्थे। मिजासिलो स्वभावका कारण म छिटै अरु मानिसहरुसँग घुलमिल भइहाल्थेँ। सायद यही बानीको कारण एक महिना नपुग्दै हिंसामा परेँ।
पहिलो हिंसा मैले परियोजना प्रबन्धकबाट नै भोग्नुपर्यो । कहिले हातमा समाउने त कहिले अंकमाल गर्ने जस्ता क्रियाकलाप दिनानुदिन बढ्दो थियो। दिनदिनै म तिमीलाई माया गर्छु र तिमीसँगै जीवन बिताउन चाहन्छु भन्ने जस्ता शब्द एक विवाहित हाकिमले गर्न थालेपछि मलाई नराम्रो लाग्न लागेको थियो।
यस्तो हुन थालेपछि साथीहरुको आग्रह सम्झिन्थेँ– एनजिओमा दुरदराजमा काम गर्ने महिला स्टाफ शारीरिक हिंसामा पर्छन्, नजा।
मन धेरै आत्तिन्थ्यो। तीन वर्षको परियोजनामा एक महिना नपुग्दै हाकिमले हिंसा गर्योत भनेर घर फर्किन पनि सकिनँ।
त्यस व्यक्तिलाई सम्झाउन खोजें– म त्यस खालकी केटी होइन, जो जवानीको मातमा आएर आफ्नो होस गुमाओस्। म आफ्नो करिअर बनाउन आएकी हुँ।
जब मैले विरोध गरेँ, तब ममाथि कामको बोझ थपियो। तराईको ४० डिग्रीको घाममा दिनदिनै फिल्ड भिजिट गरेर अनावश्यक रिपोर्ट दिनुपर्ने बाध्यता बनाइयो। सार्वजनिक सवारीसाधन नपाइने ठाउँ भएकाले बिहान ५/६ बजे नै उठेर फिल्डमा जान्थें। खाना खाने ठेगान हुन छाडेको थियो। ५ बज्नुअगाडि नै रिपोर्ट बुझाउँथे। त्यो क्रम धेरै महिनासम्म चल्यो।
दिनभरि कामको व्यस्तताले केही याद हुँदैन थियो। जब रात पर्थ्यो र बिछ्यौनामा पल्टन्थेँ तब घर सम्झेर धेरै रुन्थेँ। आफ्नो कुरा सुनाउनलाई त्यहाँ कोही आफ्नो थिएन। बिरानो ठाउँमा दिनदिनै मरिरहेको थिएँ।
अफिसबाट हाकिमको फोन आउँथ्यो। कामले फोन गरेको होला भन्ठान्थें। तर त्यही कुरा दाहोरिन्थ्यो, ‘मैया आई लभ यू।’ स्वीकार गरौं, मनले मान्दैन। नकारुँ, दिनदिनै कामको चाप बढ्दै थियो।
समय बित्दै गयो। ममाथि भएको हिंसा पनि बढ्दै थियो। सहन सक्ने सीमा कम हुँदै थियो। मैले कार्यालय प्रमुखलाई उजुरी गर्ने निर्णय गरेँ। उजरी गरेरै साँझ त्यस हाकिमले कार्यालय छोडेको खबर पाएँ।
म ढुक्क भएँ। एकदम चर्किएको घाउबाट खील निकालेको महसुस गरेँ। ठूलो बोझ हटे जस्तो भयो। अब मेरो साहस बढ्यो। अगाडि बढ्नको लागि बाटोको काँडा हटेको थियो। दत्तचित्त भएर काममा अग्रसर भएँ।
एक महिनापछि अर्को नयाँ हाकिमको आगमन भयो। नयाँ हाकिमको प्रवेशले आफ्नो काममा साथ र सहयोग पाउने आशा मनमा थियो। तर आशाहरु निराशामा बदलियो।
फेरि, ममाथि अन्याय भयो। यसपटक शारीरिक होइन, मानसिक हिंसामा परेँ। महिलालाई घरभित्र मात्र सीमित भएको हेर्न चाहने शिक्षित भनिने पुरुषहरु महिला अघि बढेको हेर्न नचाहने रहेछन्।
रिपोर्ट बुझाउने वा अन्य अफिसियल कुरामा आफ्ना सहकर्मीहरु भन्दा म कुनै कुरामा पनि पछि थिइनँ। तर प्रत्येक पटक मेरो कामको बेवास्ता गरिन्थ्यो र एउटा नोकरको झैँ व्यवहार गरिन्थ्यो। मलाई दिइएको जिम्मेवारीमा प्रत्येक पटक हस्तक्षेप हुन्थ्यो। मैले गरेको निर्णय कहिले पनि स्वीकार्य भएन। काम थोपार्नु त सामान्य नै भइसकेको थियो। मैले हरेक च्यालेन्ज स्विकार्दै गएँ। तर यसले पनि सीमा नाघ्यो। तनाव झाँगिदै गयो।
बिहानैदेखि रातिसम्म काममा नै व्यस्त हुन्थेँ। खानेसुत्ने ठेगाना थिएन। एक प्रकारले भन्ने हो भने मेरो कुनै व्यक्तिगत जिन्दगी नै थिएन। दिनदिनै मेरो कामको अवमूल्यन हुँदै गएपछि मैले माथिल्लो तहमा कुरा राखेँ। पटकपटक हाकिमप्रतिको गुनासोका कारणले हुन सक्छ, त्यति चासो देखाइएन। मेरो कार्यको अवमूल्यन तलदेखि माथिसम्मको व्यक्तित्वमा भएको भान गरेँ।
आफूभन्दा ज्यादा माया गरेको काम र चार सय जना कुष्ठ प्रभावित, अपांग र सीमान्तकृत महिलासँगको कसिलो सम्बन्ध चटक्कै छोडेर जाने आँट पटक्कै गर्न सकिनँ।
तर म दिनदिनै मर्दै गएकी थिएँ। मानसिक तनावले गर्दा स्मरण शक्तिले काम गर्न छोडिसकेको थियो।
कुनै पनि परिस्थितिमा नडगमगाई तीनवर्षे कार्यकाल सफलताको साथ पूरा गरेर विजयको माला पहिरिएर मात्र फर्कने मेरो अठोट थियो। त्यति आत्मविश्वासमा मैले आफ्नो कार्यकालको १५ महिना बिताइसकेको थिएँ। तर यस्तो लाग्दै आयो कि अब म यहाँ एकदिन पनि बस्न सक्दिनँ।
र, एक दिन रुँदै राजीनामा लेखेँ।
मैले मेरो जिन्दगीको महत्वपूर्ण निर्णय गरेकी थिएँ। मन एकदम गह्रौं भएको थियो।
राजीनामा लेख्दै गर्दा, मलाई माया गर्ने व्यक्तिहरुलाई सम्झिएको थिएँ। आफूले मन वचनले गरेको दुःख सम्झिएँ। मुख्य त मेरी आमालाई सम्झिएँ। तीन वर्षको कार्यकाल सकेपछि मेरी छोरी फर्किन्छे र मसँगै बस्ने र बोल्ने साथी हुनेछ भन्दै दिन कुर्दै बस्नुभएको थियो।
भोलिपल्ट नै राजीनामा सहर्ष स्वीकार भएको उत्तर आयो।
मन खिन्न भयो। १५ महिना मरिमेटेर काम गरेको गाउँठाउँ र मलाई माया गर्ने गाउँलेहरुलाई छोड्नुपर्दा निकै पीडा भएको थियो। कतिको लागि यसरी कार्य छोडेर जानु हार मान्नु हुन सक्ला तर म जित्नको लागि नै त्यहाँबाट बिदा लिएको थिएँ।
काम गर्ने सिलसिलामा मैले भोगेको शारीरिक तथा मानसिक हिंसाको एउटै कारण थियो, जेन्डर।
महिला भएकै कारण आज पनि म र मजस्ता लाखौं महिलाहरु हिंसामा परिरहेका छन्। कामको सिलसिलामा कतिले बिहेको प्रस्ताव राखे, कतिले ‘भर्जिनिटी’ भए नभएको कुरा गरे, कतिले जाडोमा बिस्तरा तताउनको लागि आमन्त्रण पनि गरे। यस्ता हिंसाले आत्महत्या गर्ने सोच नआएको पनि होइन। तर, समस्या हटेर होइन डटेर सामना गर्नुपर्छ भन्दै आफूलाई सम्झाउथेँ।
नारी भएकै कारण विभिन्न ठाउँमा विभिन्न रुपमा हिंसामा परेका मजस्ता कैयौं साथी होलान्। जो आफ्नो इज्जत, भविष्यको लागि भन्दै मौन छन्। मैले भोगेको समस्या र अन्य महिला हिंसाविरुद्ध आवाज उठाउन र आफूलाई मजबुत बनाउन महिलाको हकहित र अधिकारको लडाइँ लड्न म अहिले थप अध्ययनमा छु।
सबैलाई भन्न चाहन्छु, महिला हिंसाबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं। अन्याय गर्नु मात्र पाप होइन, अन्याय सहनु पनि पाप हो। आत्मसम्मान गुमाएर बाँच्नुको के अर्थ?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।