काठमाडौं– आइफोनको कभर बनाउने एउटा अमेरिकी कम्पनी मिक्सबिन इलेक्ट्रोनिक्स एलएलसीले २ लाख ६३ हजार वटा तरल ग्लिटर भएका कभर बजारबाट फिर्ता लगेको छ।
आइफोनको कभर सुन्दर बनाउन अमेरिकी राज्य न्युजर्सीको ह्यामिल्टनस्थित कम्पनीले तरल रासायनिक ग्लिटरको कारण छाला पोल्ने सम्भावनाका बीच अढाई लाख कभर फिर्ता लिएको हो ।
मिक्सबिनले आइफोन सिक्स, सिक्स एस र सेभेनको कभर अमेरिका, क्यानडा र मेक्सिकोमा बेचेको थियो। आइफोनको केस (कभर)मा भएको तरल पदार्थ र ग्लिटर चुहिन सक्ने र त्यसरी चुहिँदा छालामा जलन तथा रासायनिक पदार्थले पोलेका २४ घटना सार्वजनिक भएपछि कम्पनीले कभर फिर्ता लिएको सञ्चारमाध्यमले जनाएका छन् ।
यस्ता घटना अमेरिकामा मात्र १९ वटा भएको थियो। रसायनका कारण केहीको अनुहार र घाँटी पोलेको तथा हात सुन्निएको थियो। केहीको भने रसायनले पोलेर दाग नै बसेको थियो। कम्पनीले फिर्ता लिएका २४ कभर भने बहुरंगी र स्टाइलका छन्।
ती सबै कभरहरू अमेजन, नर्डस्ट्रोम ¥याक, हेनरी बेन्डेल, मिक्सबिन, भिक्टोरियाज सिक्रेट र टोरी बर्चजस्ता अनलाइन र स्टोरबाट बेचिएका थिए।
सन् २०१५ अक्टोबरदेखि २०१७ जुनबीच ती कभरहरू १५ देखि ६५ अमेरिकी डलरसम्ममा बेचिएका थिए।
मिक्सबिनले यो कभर किनेका सबैसँग तत्कालै प्रयोग रोक्न आग्रह गरेको छ। साथै उसले कभरको मूल्य फिर्ता लिन कार्यालयमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।