पोखरा– सन् २०२५ सम्म आफ्नै भूउपग्रहसहित नेपालमै पहिलो रकेट प्रक्षेपण गर्ने अभियान अन्तर्गत ‘मन्त्रः च्यान्टिङ अफ टेक्नोलोजी’को तेस्रो कार्यक्रम पोखरामा हुने भएको छ।
‘नेपाल बन्छ, जब नेपालमै बन्छ’ नारा दिइएको कार्यक्रम माघ २६ देखि फागुन २ गतेसम्म पोखरा सभागृहमा हुँदै छ। गैरनाफामूलक संस्थाहरु आइएनजी (इनोभेटिभ घर) नेपाल र युजआर्ट नेपालको आयोजनामा हुने यो कार्यक्रम ‘मन्त्रः च्यान्टिङ अफ टेक्नोलोजी’को तेस्रो संस्करण हो।
डिजिटल उत्पादन, इन्टरनेट सम्बन्धी सामग्रीहरु (आईओटी), कृत्रिम बौद्धिकता (एआई) र रोबोटीक कला जस्ता प्राविधिक विकास नेपालमै सम्भव रहेको नमूना र उदाहरण कार्यक्रममा प्रदर्शनी र कलामार्फत पेश हुने आयोजकले जनाएको छ।
कार्यक्रममा पर्यावरणलाई सन्तुलित राख्न निर्माण गरिएको नमूना रोबोटिक उपकरणहरुको प्रदर्शनी हुनेछ। साथै, नाटक र सांगीतिक प्रस्तुति समेत हुनेछ। त्यस अन्तर्गत रंगकर्मी विकास जोशी निर्देशित प्रविधि नाटक ‘मिरा मिराज’ पोखरा सभागृहको सिटी हलमा मञ्चन गरिनेछ। यस्तै, आधा सुर र स्थानीय ब्यान्डको कन्सर्ट मोबाइल थिएटर बसमा हुनेछ। चर्चित र्यापर लाहुरेको प्रस्तुति पनि कार्यक्रमको आकर्षण हुने जनाइएको छ।
कार्यक्रममा १० हजारभन्दा बढी अवलोकनकर्ता आउने अनुमान गरिएको छ।
यसअघिका दुई संस्करणमध्ये गत असोजमा काठमाडौं र पुसमा विराटनगरमा कार्यक्रम भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।