वीरगञ्ज- दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनका लागि प्रदेश २ का आठ जिल्लाका मतदाता उत्साही देखिएका छन् । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा मत खसाल्न मतदाता आतुर छन्।
संविधानप्रति विमति जनाउँदै आएका मधेसवादी दलका कारण बारम्बार निर्वाचनको समय फेरबदल हुँदै आएकामा ती मधेसवादी दलले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा भाग लिएपछि संविधान कार्यान्वयनको मार्ग प्रशस्त भएको छ।
संविधानमा व्यवस्था भएअनुसार नै यसपाली निर्वाचनमा महिला, दलित तथा उत्पीडन समुदायले उम्मेदवार बन्ने मौका पाएका छन् । संविधानले महिलाको समान अधिकारलाई सुनिश्चित गरेकाले मत खसाल्न महिला पनि व्यग्र देखिएका छन्।
यहाँका मतदाताले उम्मेदवार र दलको ख्रोक्रो आश्वासनमा नपरी विकास गर्ने उम्मेदवारलाई भोट दिने सोच बनाएका छन्।
'नेताका झुटो आश्वासनको जालोमा धेरै परियो, तर अब सोमबार असल र विकासप्रेमी उम्मेदवारलाई भोट हाल्छौं', वीरगञ्ज महानगरपालिका वडा नम्ब। २४ रमघडवाका शेषमन पण्डित भन्छन्।
पर्सा जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तहमा १ सय १२ मतदान केन्द्र छन् । मतदाताहरु दुई लाख ८० हजार २ सय १२ छन् । सोमबार बिहान ७ बजेदेखि साँझ बजेसम्म मतदानका लागि सुरक्षा व्यवस्था मिलाइसकिएको स्थानीय प्रशासनले जनाएको छ।
जनप्रतिनिधिविहीन अवस्थामा दुई दशकसम्म विकास हुन नसकेको सोमबार हुने निर्वाचनले विकासको बाटो खोल्ने मतदाताको अपेक्षा छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।