



क्याम्प नेउ– गेटाफेविरुद्ध ला लिगाअन्तर्गत शनिवार रातीको खेलमा २–१ ले विजयी भए पनि उरुग्वेका स्ट्राइकर लुइस सुआरेजको कमजोर खेलबाट उनका अनन्य मित्र लिओनल मेसी असन्तुष्ट देखिएका छन्।
इर्नेस्टो भाल्भेर्डेको टोलीलाई महत्वपूर्ण तीन अंक जुटाउन पाउलिन्हो र डेनिस सुआरेजले गोल गरेका थिए। स्पेनिस पत्रिका डन बाल्रोनका अनुसार मेसीले लिभरपुलका पूर्व स्ट्राइकरकै अगाडि उनको खराब प्रदर्शनप्रति असन्तुष्टी जाहेर गरेका छन्। सुआरेज यो सिजनको सुरुको खेलमा प्रभाव जमाउन सकिरहेका छैनन्। यसले मेसीको छटपटी बढाएको छ।
अग्रपंक्तिमा सुआरेजको प्रभाव कम हुँदा आफूमाथि पर्ने दबाबलाई मेसीले राम्रोसँग बुझेका छन्। यसअघि मेसीलाई स्वतन्त्ररुपले खेल्न सुआरेजले सघाउँदै आएका थिए। पत्रिकाको रिपोर्टअनुसार मेसीले सुआरेजलाई जसरी पनि यो अवस्था परिवर्तन गर्न आग्रह गरेका छन्। बार्सिलोना हाल ला लिगाको ४ खेल खेलिसक्दा शीर्ष स्थानमा छ।
सुआरेजले अघिल्लो खेलमा सुधार गर्ने विश्वास मेसीले लिएका छन्। गत सिजन बार्सिलोना आफ्नो प्रतिद्वन्दी रियल म्याड्रिडबाट उपाधि गुमाउन पुगेको थियो। यस्तै, च्याम्पियन्स लिगमा पनि बार्सिलोना युभेन्ट्सबाट पराजित भएको थियो।
बार्सिलोनाको अघिल्लो खेल एइबारविरुद्ध मंगलबार खेल्दैछ। यो खेलपछि बार्सिलोनाले गिरोनाको भ्रमण गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।