प्रसिद्ध फ्रान्सेली फिल्म निर्देशक जीन लुक गोदार्डले सिनेमालाई संसारको सबैभन्दा सुन्दर धोकाको रूपमा व्याख्या गर्छन्। यस्तै उनको 'एउटा सिनेमाका लागि एउटा केटी र बन्दुक भए पुग्छ' भन्ने भनाइ संसारभरका फिल्मकर्मी माझ चर्चित छ।
शुक्रबार रिलिज भएको नितिन चन्दको निर्देशकीय डेब्यू फिल्म 'जोनी जेन्टलम्यान'ले गोदार्डको पछिल्लो भनाइमा आफ्नो फिल्म पस्केको छ तर उनको पहिलो भनाइमा रहेको 'सुन्दर धोका' भन्ने पदावलीमाथि भने फिल्म आफैमा धोका साबित भएको छ।
फिल्मको शीर्ष पात्र जोनी (पल शाह) को काम मान्छेको कुरियर गर्नु हो। उसले पैसाको लागि जेलमा रहेका कैदीलाई जेलभित्रैबाट भगाउने काम गर्छ। यस्तैमा उसको जीवनमा एउटी सुन्दर युवती 'श्री'(आँचल शर्मा) को प्रवेश हुन्छ, जोसँग जोनीको पहिलो नजरमै मुटु धड्किन्छ।
युवतीलाई समाजसेवाको सोख छ, ऊ सानासाना नानीलाई 'ह्यान्डीक्राफ्ट' सिकाउँछे। उसलाई लडाइँ-झगडा मन पर्दैन, सिधासादा जीवन उसको रोजाइमा पर्छ।
हिरोइनका लागि जोनीले आफ्नो आपराधिक काम पनि छोडिदिन्छ। त्यसपछि ती दुईको जीवनमा आउने उतारचढाव नै 'जोनी जेन्टलम्यान'को कथा हो।
झन्डै २ घन्टाको फिल्ममा निर्देशक आफूले पस्किने कथाको मनोविज्ञानबाट पूरै पर छन्। उनी फिल्ममा के देखाउन चाहन्छन्, पर्दामा कन्फ्युजन मात्रै देखिन्छ।
नेपालमा म्युजिक भिडियो निर्देशनबाट फिल्म निर्देशनमा प्रवेश गरेका निर्देशकको फिल्मी प्रदर्शन बिर्सनलायक छ। 'जोनी जेन्टलम्यान' पनि एउटा बिर्सनलायक सिनेमा हो।
फिल्मले गोदार्डका दुईवटै भनाइको छेउटुप्पो छुँदैन। झन्डै २ घन्टाको फिल्ममा निर्देशक आफूले पस्किने कथाको मनोविज्ञानबाट पूरै पर छन्। उनी फिल्ममा के देखाउन चाहन्छन्, पर्दामा कन्फ्युजन मात्रै देखिन्छ।
फिल्मको सुरूवातमा जोनीलाई धुलिखेल कारागारमा रहेको दिवाकर पाण्डेलाई निकाल्ने जिम्मेवारी सुपिइन्छ। जेलमुक्त गराइएको दृश्यमा सिर्जनशीलता छैन।
आफ्नो पुरानो काम छाडेर श्रीको हरेक सपना पूरा गर्छु भन्ने जोनीले फिल्ममा चाहिँ केही गर्दैन। इमानदारी जीवन निर्वाह गर्ने उसले नयाँ काम के गर्छ पनि फिल्मले भन्दैन। फिल्ममा विकसित हुने घटनाक्रमको 'एम्बियन्स' निर्माण नै छैन। महेश दवाडीको कथा, पटकथा फिल्ममा कुनै घटनाक्रमको सारांश लाग्छ जसले प्रस्तुत कथाको गहिराए नै पेस गर्दैन।
ब्रेकअगाडि फिल्ममा गीतहरूको भिडले स्क्रिन स्पेस ओगटेको छ। लाग्छ, निर्देशक चन्द पर्दामा आफ्नो म्युजिक भिडियो कस्तो देखिन्छ भनेर हेर्न चाहन्छन्। उनी फिल्म होइन चार वटा म्युजिक भिडियो देखाइरहेका छन्। भन्न खोजिएको कथा पहिलो हाफमै रुमल्लिएको छ।
त्यसको सिधा असर दोस्रो हाफमा देखिन्छ। दोस्रो हाफमा जोनीले अपराध छाडेपछिको जोनीको विगत र त्यससँग गर्ने लडाइँ पनि उम्दा ढंगले भनिएको छैन। सतहमै फिल्मलाई दौडाइएको छ।
अभिनयका हिसाबले पल शाह तेस्रो फिल्ममा सपाट छन्। चरित्र र त्यसको मनोविज्ञान पर्दामा प्रस्तुत गर्न उनी असफल छन्। पछिल्लो समय उनलाई सम्भावित स्टारको रूपमा हेरिएको छ, त्यसलाई मूर्त रूप दिन उनले अझ मेहेनत गर्नुपर्नेछ। विशेषगरी संवाद शैलीमा उनले आफूलाई निखार्नुपर्छ।
यस्तै आँचल शर्मालाई निर्देशकले गतिलो काम गराउन सकेका छैनन्। उनको अभिनय क्षमता पर्दामा जीवन्त लाग्दैन। प्रहरी अधिकारीको भूमिकामा अभिनय गरेका सन्तोष सिलवाल गिरीको अभिनय पनि फिक्का छ। उनको अभिनय हिन्दी फिल्मका कलाकारको अभिनयको सस्तो नक्कल प्रतीत हुन्छ। यी सबको अभिनयलाई निचोर्नमा पनि निर्देशक चन्न चुकेका छन्।
प्राविधिक रूपमा पनि फिल्म कमजोर छ। क्यामेराको काम उम्दा छैन। थरीथरीका क्यामेराले खिचिएको फिल्म आँखालाई बिझाउँछ। फिल्मको ब्याकग्राउन्ड म्युजिक पनि कमजोर छ। 'जब जब तिम्रो साथ' बोलको गीत राम्रो भए पनि अन्य गीत सामान्य छन्। डबिङमा पनि फिल्म चिप्लिएको छ। लिपसिङ सिङ्क्रोनाइज छैन।
समग्रमा 'जोनी जेन्टलम्यान' आफ्नो न्यारेटिभ स्टाइल र प्रस्तुतिमा हल्का र सतही हुँदा दर्शककका लागि गतिलो मनोरञ्जन दिन असफल छ। चन्दले निर्देशकका रूपमा आफूलाई निक्कै सुधार गर्नुपर्ने देखिएको छ। उनले फिल्म र म्युजिक भिडियो फरक विधा हुन् भनेर बुझ्नु जरूरी छ। उनको फिल्म गोदार्डकै भनाइमा- दर्शकका लागि एउटा धोका हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।