जाजरकोट- नेकपा (माओवादी केन्द्र) जाजरकोटले प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको चुनावमा भाग लिनका लागि जाजरकोटबाट उम्मेदवारको टुंगो लगाएको छ।
माओवादीले प्रदेशसभाका लागि जाजरकोट क्षेत्र नं १ बाट गणेशप्रसाद सिंह र क्षेत्र नं २ बाट नरबहादुर कार्कीलाई उम्मेदवार बनाउने निर्णय भएको माओवादी केन्द्रका स्थायी समिति सदस्य कालीबहादुर मल्लले बताए।
त्यस्तै प्रतिनिधिसभाका लागि पूर्व गृहमन्त्री तथा क्षेत्र नं १ का सांसद शक्तिबहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ। प्रदेश नं ६ मा पर्ने जाजरकोट जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि एक निर्वाचन क्षेत्र कायम गरिएको छ। यसअघि २ निर्वाचन क्षेत्र थिए। प्रदेशसभा सदस्यका लागि भने २ निर्वाचन क्षेत्र कायम गरिएको छ।
२०४८ सालदेखि अहिलेसम्म जिल्लामा कुनै उम्मेदवारले दोहोरिएर जितेको रेकर्ड छैन। २०४८ मा एकमा कांग्रेस र अर्कोमा एमाले, २०५१ सालमा दुवै सिट कांग्रेस, २०५६ को चुनावमा एकमा राप्रपा, पहिलो संविधानसभाको चुनावमा दुवै क्षेत्र माओवादी केन्द्र, दोस्रो संविधानसभामा क्षेत्र नं १ मा माओवादी केन्द्र र क्षेत्र नं २ मा कांग्रेसले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।