काठमाडौं– त्रिभुवन विश्वविद्यालयमा विस्तृत तयारी नै नगरी सेमेष्टर प्रणाली लागू गर्दा केही समस्याहरु देखिएको विभिन्न संकाय प्रमुख(डीन)हरुले स्वीकार गरेका छन्। यद्यपी विद्यार्थी र शिक्षकहरुमा अध्यापन र सिकाईमा सुधार भएको उनीहरुको दाबी छ।
नेपाल विद्यार्थी संघ(नेविसंघ), त्रिभुवन विश्वविद्यालय समितिले मंगलबार किर्तिपुरमा आयोजना गरेको ‘सेमेष्टर प्रणाली कार्यन्वयनका चुनौति र अवसरहरु’ भन्ने अन्तरक्रिया कार्यक्रममा संघले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्ने क्रममा समस्या भएपनि यसले शिक्षामा सुधार भएको दाबी गरेका छन्।
नेपाल र एशियाली अनुसन्धान केन्द्र(सीनास)का कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादर कार्कीले नेपालको शिक्षा प्रणाली अन्तर्राष्ट्रिय रुपमा समावेश हुँदै गएको बताए। तर, नेपालले पश्चिमा शिक्षा प्रणालीको अंगीकार गर्दा आफ्नो मौलिकता र विशेषता विर्सन नुहनेमा कार्कीको भनाई छ। रोजगार, ज्ञान र सीपसँग जोडिएको शिक्षा नै अहिलेको आवश्यकता रहेको उनको तर्क थियो । ‘शिक्षा अधिकार हो वा छनौटको विषय हो ? अब यसमा बहस हुनुपर्छ,’ भने।
व्यवस्थापन संकायका डीन प्राध्यापक डिल्लीराज शर्माले सेमेष्टर प्रणाली लागू भएपछि विद्यार्थीलाई अनुसन्धानमूलक शिक्षामा केन्द्रीत गराएको बताए। ‘सेमेष्टर प्रणाली अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त प्रणाली भएकोले व्यवस्थापन संकायका सबै निकाय सेमेष्टरमा गइसकेको छ, उनले थपे, ‘स्नातकदेखि पीएचडीसम्म २२ वटा कार्यक्रम सबैमा सेमेष्टर प्रणाली लागू भइसकेको छ, ।’ दुई लाख विद्यार्थी व्यवस्थापन संकायमा यस प्रणालीमा अध्यापनरत छन्।’ वार्षिक प्रणालीमा शिक्षकले नपढाई र विद्यार्थीले क्याम्पसमा नपुगी नै पास हुने कुराको अन्त्य भएको उनको भनाई छ।
विज्ञान संकायका डीन प्रा. रामप्रसाद खतिवडाले देशैभरि सेमेष्टर प्रणाली लागू गर्दा समस्या देखा परेको अनुभव सुनाए । ‘हाम्रो नेपाली शैलीको सेमेष्टर प्रणालीको अभ्यास भइरहेको छ, यसलाई हामीले अन्तर्राष्ट्रियस्तरको बनाउने प्रयास गरिरहेका छौं, उनले भने, ‘०६२ सालमा आइटीबाट सेमेष्टर प्रणालीमा प्रवेश गरेको विज्ञान संकाय ०७१ सम्ममा आइपुग्दा पूर्ण रुपमा सेमेष्टर प्रणालीमा गइसकेको छ। ’
कानुन संकायका डीन तारा सापकोटाले सेमेष्टर प्रणाली लागू गर्दा अझै पनि एकरुपता आइनसकेकोले विद्यार्थीहरुलाई अन्य विश्वविद्यालयमा एक्सचेन्ज गर्न नसकिएको उल्लेख गरे । सेमेष्टर प्रणाली पीएचडी, एमफील र मास्टर डिग्रीबाट सुरु गरिएको छ । माथिबाट तल लागू गर्दै गएकोले पनि यो प्रणाली लागू हुने क्रममा समस्या देखिएको सापकोटाको तर्क थियो ।
शिक्षा संकाय डीन प्रा. कृष्ण गौतमले सेमेष्टर प्रणालीले विद्यार्थी र शिक्षक दुवैलाई अनुशासित र नियमित बनाएको दाबी गरे। देशव्यापी क्याम्पस भएको शिक्षा निकायमा एकैपटक सेमेष्टर प्रणाली लागू गर्न कठिन भएको उनको अनभुव छ।
मानविकी संकायका डिन शिव भुसालले एउटै विश्वविद्यालयमा दुईवटा प्रणाली लागू हुन नसक्ने अवस्था आएकोले देशैभरी त्रिभुवन विश्वविद्यालयमा सेमेष्टर प्रणाली लागू हुँदै गरेका तथ्य पेश गरे। सुरुमा समस्याहरु देखिएको भएपनि त्यसमा सुधार हुँदै आएकोले सेमेष्टर प्रणालीलाई लागू गर्न सबै विद्यार्थी संगठनहरुलाई सहयोगी भूमिका खेल्न अनुरोध गरे।
डीनहरुले शिक्षकको कमी, काठमाडौं उपत्यकावाहिर जान नचाहने सुविधाभोगी शिक्षक, पाठयक्रममा लोड, परीक्षामा ढिलाई, पूर्वाधारमा भवन र कक्षाहरुको व्यवस्थापनमा कमी, कर्मचारीको अभाव, प्रयोशाला(ल्याव)को अभाव, प्राध्यापकहरुको पेन्सन सुविधा नहुनु, शिक्षक तालिम पनि नुहनुजस्ता समस्या रहेको स्वीकारेका छन्।
सेमेष्टर प्रणालीमा अन्तरक्रियात्मक, अनुसन्धानत्मक, सहमागीयत्मक र ८० प्रतिशत हाजिर हुनुपर्ने व्यवस्था भएकोले थोरै विद्यार्थीलाई धेरै शिक्षकको आवश्यकता हुन्छ तर त्यसको व्यवस्थापन गर्न विश्वविद्यालयले ध्यान दिन नसकेको खतिवडाले जानकारी गराए । ‘सेमेष्टर प्रणाली नयाँ भएकोले अझै अभ्यस्त हुन नसकेकोले केही समस्या जरुर छन्, उनले भने, ‘राज्यको नीतिले पनि राम्रा विद्यार्थी विदेश पलायएन हुने वातावरण बनाएको छ ।’
नेविसंघका महामन्त्री कुन्दन काफ्लेले सेमेष्टर प्रणाली लागू भइसकेकोले यो विषयमा अनविज्ञता प्रकट गर्नु विश्वविद्यालयका प्राध्यापकहरुको गैरजिम्मेवारपन भएको आरोप लगाए। शिक्षा प्रणाली व्यवस्थित र मर्यादित हुनुपर्नेमा उनकोे जोड छ।
नेविसंघ त्रिभुवन विश्वविद्यालय समितिका अध्यक्ष तथा कार्यक्रमका सभाअध्यक्ष हरि आर्चायले विश्वविद्यालय सुधार नगरी देश सुधार गर्न नसकिने निष्कर्ष निकाल्दै कार्यक्रमको समापन गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।