[विश्वेश्वरप्रसाद कोइराला राजनीति र नेपाली साहित्यमा धेरै सम्झना गरिने नाम हो। उनी नेपाली कांग्रेसको राजनीतिमा जीवनभर सक्रिय रहे। महत्वपूर्ण राजनीतिक जिम्मेवारीमा रहँदासमेत साहित्यमा राजनीति प्रवेश हुन दिएनन्। त्यसैले पनि नेपाली साहित्यमा उनका कृतिहरु कालजयी बन्न सफल छन्।
बिपीले विभिन्न समयमा (२००८-२०१३) कोरेका डायरीको संकलन 'बिपी कोइरालाको डायरी' भरखरै प्रकाशन भएको छ। आज बिपीको जन्मजयन्तीको सन्दर्भ पारेर उक्त डायरीबाट केही अंश साभार गरेका छौं। -सम्पादक]
OOO
१९५५, ४ जनवरी (२० पुस २०११)
वीरगन्जः जयनगरबाट हामी श्रमिकहरूको एउटा र्यालीमा भाग लिनका लागि वीरगन्ज पुग्यौँ। मलाई हलुका ज्वरो र झाडापखाला थियो।
५ जनवरी (२१ पुस २०११)
वीरगन्जः काठमाडौँमा १० जनवरीबाट सुरु हुने सत्याग्रहका बारेमा एउटा सभामा बोल्नु थियो। गणेशमानजीले मलाई भन्नुभयो, मैले त्यस दिन साह्रै राम्रो उद्घोषण गरेँ जुन उहाँले यसअघि कहिल्यै सुन्नुभएको थिएन।
६ जनवरी (२२ पुस २०११)
वीरगन्जबाट काठमाडौँः सूर्य विक्रमजी भारतबाट सपरिवार काठमाडौँ बसाइँ सर्दै थिए। भारतमा उनी जागिरबाट सेवानिवृत्त भइसकेका थिए र अब नेपालमै बस्न चाहन्थे। उनमा देखिएको यो देशभक्तिपूर्ण विचार निकै सराहनीय थियो। हामीसँगै वीरगन्जबाट काठमाडौँसम्म गयौँ।
७ जनवरी (२३ पुस २०११)
अर्को दिनबाट सुरु गर्ने भनिएको सत्याग्रहका सम्बन्धमा युवराजसँग भेटवार्ता भयो। उनको विचार कठोर थियो।
१० जनवरी (२६ पुस)
मैले एउटा विशाल सभामा सत्याग्रहको सुरुवात गरेँ र एक विशाल जुलुसको नेतृत्व गरेँ। यसको उद्देश्यमा पहिलो– स्वतन्त्रता र जीवन र सम्पत्तिको सुरक्षा थियो। दोस्रो– शीघ्र निर्वाचन, तेस्रो– सस्तो चामल, चौथो– स्वतन्त्र न्यायपालिका, पाँचौँ– मुद्राको स्थिरीकरण र छैटौँ– स्वाधीनता थियो। सत्याग्रह नेपालका लागि नयाँ विधि थियो। त्यो दिनको सफलता अपार रह्यो।
११ जनवरी (२७ पुस)
हडताल। कम्युनिस्ट पार्टीबाट केही ठाउँ इँटा प्रहार। साँझ युवराजले भेट्न बोलाए। उनी र म एउटा सहमतिमा पुग्यौँ। चिठीको आदानप्रदान भयो। सत्याग्रह स्थगित भयो।
१२ जनवरी (२८ पुस)
काठमाडौँः कम्युनिस्ट पार्टीले हाम्रो र टंक प्रसादजीको पार्टीका विरुद्ध प्रदर्शन गर्यो। यिनीहरू जनतामा देखिएको उत्साहको फाइदा उठाउन चाहन्थे।
१७ जनवरी (४ माघ)
पोखराः त्यहाँका मुख्य समस्या यी थिए- बाटुलीचौरमा खानेपानी, लम्जुङमा बाढीपीडितको समस्या (१९५१), माडीमेतीमा झोलुङ्गे पुल, कर्फुटारमा हुलाक। मैले यहाँ कार्यकर्ताको एक भेलालाई पनि सम्बोधन गरेँ।
१८ जनवरी (५ माघ)
पोखरा। साँझ कन्काई डाँडामा शोभा मोहनजीका घरमा बास बसियो।
१९ जनवरी (६ माघ)
पोखराबाट काठमाडौँ फिर्ता।
२ फेब्रुअरी (२० माघ)
भद्रकाली, टंकप्रसाद र बालचन्द्रले नेपाल प्रजा परिषद्मा विलयको घोषणा गरे। भद्रकाली अध्यक्ष भए। उनीहरूसँग भारतीय पक्षको आशीर्वाद थियो।
३ फेब्रुअरी (२१ माघ)
मलबाराको बाटो, पटनाबाट लखनऊ प्रस्थान। केही समयका लागि बनारसमा रोकियौँ। बनारसबाट लखनऊ भने मैले प्रा जीडी शास्त्रीसँग यात्रा गरेँ।
४ फेब्रुअरी (२२ माघ)
मलबारामा श्रमिक र्याली।
८ फेब्रुअरी (२६ माघ)
काठमाडौँः मैले एचपीलाई उनकै निवासमा भेटेँ। युवराज नाइसतर्फ लागे जहाँ उनका पिता निकै गम्भीर अवस्थामा बिरामी छन् भन्ने खबर थियो। उनी १६ तारिख फिर्ता आउने भनिएको थियो। यता टंकप्रसाद र भद्रकालीलाई मन्त्रिपरिषद्बाट निष्कासन गरिन सक्ने हल्लाले सहर तरंगित थियो। परामर्श मण्डल भंग गयो। संकट गहिरिँदै गयो।
१० फेब्रुअरी (२८ माघ)
भद्रकाली र टंकप्रसादलाई मन्त्रिपरिषद्बाट अपदस्त गरियो।
१५ फेब्रुअरी (४ फागुन २०१०)
मैले ठूल्दाजुका अगाडि राखेको सर्त थियोः पार्टी विघटन गर, हाम्रोसँग विलय गर अथवा हामीले सरकार बनाएको खण्डमा हामीलाई समर्थन गर्छौं भन्ने घोषणा गर। उहाँले भन्नुभयो। उहाँले दोस्रो सर्त मान्नुहुनेछ। तर पहिलो भने मान्न सक्नुभएन।
१६ फेब्रुअरी (५ फागुन २०१०)
काठमाडौँः भारतीय राजदूतसँग लामो भेटवार्ता भयो। मैले उनलाई भने- नेपाल प्रजा परिषद् बिना आधारको पार्टी हो। र, हामी ऊसँग मिलेर समानताको आधारमा सरकार बनाउन सक्दैनौँ। नेपाल प्रजा परिषद्चाहिँ भारतकै संरक्षणमा रहेको पार्टी हो। यो सबै व्यवस्था ठूल्दाजुका विरुद्ध गरिएको थियो। हामीले सरकार बनाउनुपरेको खण्डमा म उनीहरूसँग न्यूनतम साझा कार्यक्रमका लागि समर्थन माग्नेछु। त्यसभन्दा बढी म केही गर्न पनि तयार छैन भनेर मैले स्पष्टै भनेँ।
उता युवराज नाइसबाट फर्किए। उनी बिरामी बुवाको हेरचाहका लागि त्यता गएका थिए। भनियो, राजाको अनुपस्थितिमा उनी काम गर्ने पूर्ण अख्तियारी लिएर फर्केका थिए।
मैले महिला संघको एउटा सभालाई सम्बोधन गरेँ। साँझ बेलायती राजदूतसँग खाना खाइयो। भारतले नेपाल प्रजा परिषद्लाई समर्थन गर्ने भनेपछि ठूल्दाजु निकै दुःखी हुनुभएको थियो।
१७ फेब्रुअरी (६ फागुन)
युवराजले आफ्नो बुवालाई भेटेर कस्तो रहस्यमय सन्देश बोकेर आए भन्नेबारे सबैमा चासो थियो। मातृका भने आफू सरकारमा रहिरहनेबारे विश्वस्त हुनुहुन्थ्यो। भद्रकाली समूहलाई लाग्थ्यो कि मातृका सरकारको स्थानमा अब अर्को गठबन्धन सरकार आउँछ जसको एक घटक उनी आफैँको पार्टी पनि हुनेछ। तर अनिच्छुक देखिए। सैनिक शासनको कुरा पनि चल्यो। परामर्श मण्डलको शासन, काङ्ग्रेस सरकारको सम्भावना तथा राजाको प्रत्यक्ष शासनजस्ता सम्भावनाका कुरा चले। वातावरण जालसाजी र अन्योलले भरियो।
१८ फेब्रुअरी (७ फागुन)
युवराजले पूरा शक्ति आफ्नो हातमा लिए। राजाबाट उनलाई पूर्ण अधिकार दिइएको पत्र एसपीले अपराह्नमा पढेर सुनाउनुभयो। युवराजले चार वटा विभाग आफ्नो प्रत्यक्ष नियन्त्रणमा राखे। उनले राष्ट्रको नाममा गरेको सम्बोधनमा बिहान एसपीले दिएको सन्देशको आलोचना गरे। र, आफू वर्तमान सरकारसँग पनि असन्तुष्ट रहेको कुरा अप्रत्यक्ष रूपमा व्यक्त गरे। चार विभाग आफ्नै हातमा लिनु भनेको, एक प्रकारले मातृका सरकारसँगको सिधा टक्कर थियो। सम्भावना यो पनि थियो, युवराजले ठूल्दाजुलाई भ्रष्टाचारको आरोपमा कार्यवाही गर्न सक्थे। युवराज र ठूल्दाजुबीचको मतभेद सतहमै आएको थियो। यो साह्रै अस्वस्थ स्थिति थियो।
युवराजले चार वटा विभाग आफ्नो हातमा लिनु भनेको एक प्रकारको प्रतिगामी कदम थियो। यो एक प्रकारले राजाको प्रत्यक्ष शासनको पूर्व–अभ्यास पनि हुन सक्थ्यो।
२१ फेब्रुअरी (१० फागुन)
युवराजले एक रेडियो सन्देशमार्फत कुशल शासनका लागि विभिन्न राजनैतिक पार्टी र सामाजिक संस्थाहरूबाट सुझावका लागि आह्वान गरे। यो सूचना षड्यन्त्रको पराकाष्ठा थियो। युवराजमार्फत छलपूर्ण हातहरू नेपालको नियतिलाई डोर्याउन उद्यत भएको देखिन्थ्यो। पहलहरू राजनैतिक पार्टीलाई बाहिर राखेर गरिँदैथ्यो। यस्ता कदमले थप अन्योल मात्रै सिर्जना गरिरहेका थिए।
२३ फेब्रुअरी (१२ फागुन)
काठमाडौँबाट पटनाः पटना पुगेपछि मैले थाहा पाएँ। मैले पछिल्ला पन्ध्र दिनमा ११ पाउण्ड वजन गुमाएको रहेछु। म निकै कमजोर भएको थिएँ।
२ मार्च (१९ फागुन)
ठूल्दाजुलाई प्रधानमन्त्री पदबाट पदमुक्त गरे युवराजले। उहाँ सधैँ मेरा विरोधी भएको भए पनि मलाई यस कदमले ज्यादै दुःखी तुल्यायो। मसँग उहाँका प्रति कुनै पनि द्वेष थिएन। मलाई आज बुवाको याद धेरै आयो। उहाँलाई जुन षड्यन्त्रले पदबाट आजभन्दा तीन वर्षअगाडि हटाएको थियो, त्यही षड्यन्त्रले आज ठूल्दाजुलाई हटाएको थियो।
तीन वर्षअगाडि ठूल्दाजुले मेरा विरुद्ध षड्यन्त्र रचिरहनुभएको थिए। आज म उहाँप्रति समवेदनाले ओतप्रोत थिएँ। सुशीलालाई पनि उहाँको स्थिति सुनेर नमज्जा लाग्यो। सम्पूर्ण कोइरालाहरू विरुद्ध पनि षड्यन्त्रहरू चलिरहेका थिए। यो पनि निश्चित थिएन कि ठूल्दाजुको ठाउँ अब कुनै राम्रो व्यक्तिले लिनेछ। युवराजको गतिविधि साह्रै शंकास्पद थियो। उहाँले चालेका कदमहरू अस्वस्थ थिए।
४ मार्च (२१ फागुन)
काठमाडौँः म काठमाडौँ पुग्नासाथ ठूल्दाजुलाई भेट्न गएँ। उहाँ निकै नै खुसी देखिनुहुन्थ्यो। उहाँले भन्नुभयो, केही दिन उनका घरका बिजुली काटियो, र उहाँमाथि दुर्व्यवहार पनि गरियो। उता डिल्लीबजारका जनताले भने उहाँलाई अपदस्त गरिएकोमा खुसी व्यक्त गरे।
यसैबीच नोना उपचारका लागि काठमाडौँ आइन्।
५ मार्च (२२ फागुन)
मदिरा पिएर लट्ठ भएका पदमबहादुर शाहले तुच्छ व्यवहार गरे। म र वसन्त राति १ बजेसम्म जागै रह्यौँ।
['बिपी कोइरालाको डायरी' शिखा बुक्सले प्रकाशनमा ल्याएको हो]
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।