काठमाडौं– जिल्ला प्रशासन कार्यालयमा गलत थर र गलत विवरण बुझाएर नागरिकता लिएका निजगढ नगरपालिकाका एकजना उम्मेदवारलाई सरकारी छाप किर्ते दस्तखत जस्तो गम्भीर फौजदारी अभियोगबाट बचाउन स्थानीय प्रशासन चलखेलमा लागेको छ।
जिप्रका बाराबाट जयराम कुँवरका नाममा नागरिकता लिएका निजगढ नगरपालिका वडा नम्बर ४ का नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार कुँवरले मनोनयन दर्तामा जयराम कुनवर नामको नागरिकता पेश गरेका थिए।
मुलुकी ऐन अनुसार किर्ते कागजपत्र सरकारी कामकाजमा प्रयोग गर्नु 'सरकारी छाप किर्ते दस्तखत अपराध' अन्तर्गत पर्छ। तर, स्थानीय प्रशासनले उनको दोस्रो नागरिकता खारेज गरे पनि उनलाई प्रहरीमा बुझाएको छैन। अझ स्थानीय प्रहरीले यस प्रकरणका बिषयमा अनभिज्ञता व्यक्त गरेको छ।
बाराका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरका अनुसार पहिलो नागरिकता जयराम कुँवरका नाममा लिएका उनले उम्मेदवारी मनोनयनमा जयराम कुनवरका नाममा लिएको नागरिकता पेश गरेका थिए। जिल्ला प्रशासन कार्यालय बाराले उनको पछिल्लो नागरिकता खारेज गरेको छ। उनले आफुलाइ मधेशी प्रमाणित गर्न थर बदलिएर नागरिकता लिएका थिए।
प्रजिअ मानन्धरले भने, ‘हामीले मनोनयनमा प्रयोग भएको नागरिकता खारेज गरेका छौं, उम्मेदवारीका विषयमा निर्वाचन आयोगलाई लेखेका छौं, त्यो आयोगले निर्णय गर्नेछ।’
बारा प्रहरी प्रमुख एसपी राजकुमार बैदवारले यस विषयमा आफूलाई कुनै जानकारी नभएको नेपाल लाइभलाई प्रतिक्रिया दिए। किर्ते छाप दस्तखतको मुद्दा हेर्ने प्रहरीले होइन र ? भनेर सोध्दा, एसपी बैदवारले भने, ‘यो निर्वाचनको कुरो हुँदो रहेछ, निर्वाचन अधिकृतको कार्यालयले गर्ने हो,’ भन्ने जवाफ दिए।
कानुन अनुसार सरकारी कामकाजमा किर्ते छाप दस्तखतको प्रयोग भए वा सरकारी छाप दस्तखतमा किर्ते गरे प्रचलित कानुन अनुसार प्रहरीले कारबाही चलाउँछ। तर, बाराका एमाले उम्मेदवार कुँवरका हकमा उनको नागरिकता खारेज मात्र भएको छ। उम्मेदवारी बदर हुने विषय भने अन्योलमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।