रसुवा– रसुवामा हाइब्रिड जातका बिउको अधिक प्रयोगले रैथाने बिउ हराउँदै गएको पाइएको छ।
आत्मनिर्भर सेवा केन्द्र र जिल्ला भूमि अधिकार मञ्चले जिल्लाको कालिकास्थानमा आयोजना गरेको कार्यशालामा सहभागी किसान यस्तो बताएका हुन्।
परम्परागत रुपमा खेती गरिँदै आएको कालोमास, मुगी, मस्याङ्, कालो र खैरो गहत, मुसुरो, खेसरी, जाँते फर्सी, मकै सिमी, ताम्रा सिमी, लेकाली छिरबिरे र सेता सिमी लोप हुँदै गएको कालिका गाउँपालिकास्थित कटुन्जेका तुलसीप्रसाद खतिवडाले बताए।
त्यसैगरी, पहिले मन्सरा, कालो काठे, मालभोग, भुन्टे, इन्द्रबेली, थानकोटे, भंगेरी, दर्माली, सिन्जाली, सिक्रे मार्सी, बुङताङी, अनदी, घैया, आँगा, आँपझुत्ते, बयली, रातो मार्सी, पाटीखर्के, बासमती, ठाडे कृष्णभोग, कृष्णबेली, आश्राङे, झिनुवा मसिनु, पोखरेली धान मासिएको छ भने सठिया, अर्चले, कोर्चे, ढिँडे, सठीय, भिर्कौंले, मकै, सेतो, जौनले सेतोकात्तिके डल्ले, चौरे, मंसिरे, झ्यात्ले, बर्लाबोटे, पहेँलो, सेतो कोदा, यसअघि पाइने कागुनो, जुनेलो, लट्टेका बिउ मासिँदै गएको खतिवडाले बताए।
उनले भने, ‘पहिले पहिले बिउहरु जोगाउन कोदोमा कीरा नलाग्ने भएकाले मकै र कोदो मिसाएर राख्ने गरिन्थ्यो। राम्रो र सक्कली खालको बिउहरु घाममा राम्ररी सुकाएर छुट्टै भकारी वा बोरामा राख्ने गरिन्थ्यो। गाग्रो, मधुस, ठेकी, बाँका, भुड्का, सफा कपडामा पोको पारेर राख्ने चलन थियो। खै, अहिले त गाउँमा ती चलन हराइसके।’
लगानी अनुसारको प्रतिफल नआउने भएकाले रैथाने बिउको प्रयोग गर्न छोडिएको कालिका गाउँपालिका ३ का किसान खुवाप्रसाद न्यौपानले बताए।
उनले भने, ‘दस वर्ष अघिसम्म भुन्टे मसिनो धान खेती गर्दा दुई पाथी बिउले पाँच मुरीसम्म फल्थ्यो, त्यस्तै शंकर जातको हाइब्रिड लगाउँदा १२ मुरी फल्यो। त्यही जमिनमा अहिले २० क्विन्टल आलु फल्यो।’
अगुवा किसान गोमा न्यौपाने भन्छिन्, ‘पहिले पहिले मिश्रित बाली लगाइन्थ्यो । अहिले त्यस्तो हुन छाड्यो, फल्नै छाड्यो। कोदो, मकै बारी भित्र बोडी, मस्याङ, गहत, पिँडालु, रहर, खेसर लगाइन्थ्यो, राम्रो फल्थ्यो। तर, अहिले रासायनिक मल प्रयोग गर्न थालिएपछि यस्ता खेतीहरू कता हरायो–हरायो, खेतीको आलीमा फलिने मास र भटमास समेत विस्तारै हराउँदै गयो।’
स्थानीय बिउ संरक्षण नगर्दा तत्काल असर नदेखिए पनि दीर्घकालीन रुपमा यसले ठूलै चुनौतीको सामना गर्ने अगुवा किसान भवनाथ पौडेलले बताए।
उनले भने ‘अहिले तत्कालै धेरै फाइदा हुने देखेर हाइब्रिड बिउको त प्रयोग बढाएका छौं। तर, विदेशबाट बिउ आउन छाडेमा हामी भोकै पर्नुपर्ने हो कि जस्तो लाग्छ।’
हाइब्रिड बिउ बजारमा सजिलै उपलब्ध हुने र थोरै समयमा धेरै आम्दानी लिन सकिने भएपछि किसान हाइब्रिड बिउतर्फ आकर्षित भएको सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका संयोजक विश्वास नेपालीले बताए।
उनले भने, ‘अहिले जिल्ला भरि नै हाइब्रिड बिउको पयो भएको हामीले पनि देखेका छौं। बाली लगाउने समयमा परिवर्तन, बिउलाई जोगाउन कठिन पर्दै गएपछि रैथाने बिउ लोप हुँदै हाइब्रिड बिउको प्रयोग बढ्न थालेको पाइयो।’
बिउ जोगाउन अगुवा किसानको चासो
आयातीत बिउको प्रयोग बढेसँगै रैथाने बिउ विस्थापित भएको भन्दै संरक्षण गर्न रसुवाका अगुवा किसानहरुले चासो देखाएका छन्। रैथाने बिउबाट कम उत्पादन हुने, थोरै समयमा धेरै आम्दानी लिन सकिने भन्दै बजारमा आधुनिक, हाइब्रिड बिउ बढेकाले परम्परागत बिउका लागि जलवायु परिवर्तनको असरबारे छलफल गर्न थालेका छन्।
स्थानीय अनुभवी किसानका अनुसार, पहिले–पहिले रैथाने बिउ जोगाउन बाँका, मधुस, भकारीको प्रयोग गरिन्थ्यो। तर, आजकल त्यस्ता बिउहरू जोगाउन सकिने अवस्था नै नरहेको किसानहरुले नै बताउन थालेका छन्।
‘रोग–कीराले आक्रमण गरिहाल्छन्’, किसान घाटामा अगुवा किसान पौडेलले भने बिउ जोगाउन अति जरुरी भइसकेको छ, यसका लागि किसान पनि चिन्तित हुनु जरुरी छ भने सरकारले पनि सहयोग गर्नुपर्ने देखिन्छ।
त्यस्तै, क्षणिक आम्दानी बढी देखेर हाइब्रिड बिउले परनिर्भता बढाएको नौकुण्ड गाउँपालिका ५ का अगुवा किसान खिलनाथ पौडेलले बताए।
उनले भने, ‘पहिलेको चामल पकाउँदा गाउँभरि बास्ना आउने गथ्र्याे, खाँदा कति मीठो हुन्थ्यो, भोक चाँडै लाग्ने थिएन। कालो काठे, मालभोग, भुन्टे, इन्द्रबेली, अनदी, घैया, आँगा, आँपझुत्ते जातका धान मासिएको छ।’
बिउ संरक्षणमा स्थानीय सरकारले पनि चासो नदिए पुराना बिउ लोप भएर नयाँ पुस्ताले थाहा नपाउने हुँदा अगुवा किसानले संरक्षणका लागि जोड दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।