काठमाडौं– सडक विस्तारका लागि स्काभेटरले जमिन खन्दा करिब चारफिट तल बुद्धको मूर्ति फेला परेको छ। काठमाडौं बल्खुमा रहेको सिता पेट्रोल पम्प नजिक शनिबार ढलका लागि स्काभेटरले खन्दा दुई फिट अग्लो बुद्धको मूर्ति फेला परेको हो।
स्थानीय प्रहरीले मूर्तिबारे अनुसन्धान गर्न आइतबार पुरातत्व विभागमा पत्राचार गर्ने जनाएको छ।
बल्खुको मुल सडक विस्ताका क्रममा मूर्ति फेला परेपछि साइट इन्जिनियर प्रवेश मानन्धरले तत्काल प्रहरीलाई खबर गरेका थिए। महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले घटनास्थल पुगेर मूर्ति आफ्नो जिम्मामा लिएको थियो। प्रहरीले मुचुल्का उठाएर मूर्ति नियन्त्रणमा लिएर वृत्तमा सुरक्षित राखेको जनाएको छ।
वृत्त प्रमुख डिएसपी प्रदीपकुमार क्षेत्रीले मूर्ति हेर्दा ऐतिहासिक भएको हुनसक्ने बताए।
‘हामीले मूर्ति बरामद गरेर सुरक्षित साथ राखेका छौं। भेटिएको स्थानको समेत मुचुल्का बनेको छ। मूर्तिबारे थप कुरा विज्ञ समूहले अनुसन्धान गरेपछि पत्ता लाग्ला,’ डिएसपी क्षत्रीले नेपाल लाइभसँग भने। उनका अनुसार मूर्तिमा माटो लागेका कारण प्रष्ट देखिएको छैन। तर, मूर्ति पुरानो र कलात्मक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।