काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले हालै गरेको भारत भ्रमणलाई लिएर विभिन्न राजनीतिक दलका नेताको मिश्रित प्रतिक्रिया रहेको छ । सत्तारुढ दलका नेताले प्रधानमन्त्रीको भारत भ्रमणलाई सफल भएको बताए भने प्रतिपक्षी दलका नेताहरुले भारतमा गएर नेपालको आन्तरिक विषयमा बोलेको भन्दै आपत्ति जनाए।
रिपोर्टर्स क्लब नेपालमा आज आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं प्रधानमन्त्रीको भ्रमण दलका सदस्य एनपी साउदले प्रधानमन्त्री देउवाको भारत भ्रमण ऐतिहासिकरुपमा सफल भएको विचार व्यक्त गरे।
उनले भारतले नेपालको प्रधानमन्त्रीको भारत भ्रमणलाई महत्व दिएको तथा उनलाई गरिएको आतिथ्य र सत्कारबाट पनि उक्त भ्रमण कस्तो रह्यो भन्ने स्पष्ट भएको बताए।
प्रधानमन्त्रीको भारत भ्रमणको बेला भारतसँग विभिन्न आठ महत्वपूर्ण विषयमा सम्झौता भएको र यसले देशको आर्थिक हितलाई राम्रो प्रभाव पर्ने बताए। नेता साउदले प्रधानमन्त्रीले भारतसहित कुनै पनि मुलुकमा गएर देशको राष्ट्रिय मुद्दालाई स्पष्ट रुपमा कुरा राख्न पाउने र यसलाई अन्यथा लिन नहुने चर्चा गरे।
नेकपा (एमाले)का नेता आनन्दप्रसाद पोखरेलले प्रधानमन्त्रीले नेपालको आन्तरिक मामिलालाई भारतमा लगेर सार्वजनिक गर्नुभएको आरोप लगाए। उनले प्रधानमन्त्रीले कूटनीतिक मर्यादाविपरीत अभिव्यक्ति दिएको र गौतमबुद्ध तथा बुद्ध भूमिको बारेमा पनि विवादास्पद अभिव्यक्ति दिएको उल्लेख गरे।
नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले नेपालका केही राजनीतिक दलमा छिमेकी मुलुक भारतको विरोध गरेर राष्ट्रवादी भइन्छ भन्ने प्रवृत्ति बढेको बताए। उनले भारत र चीनसँग नयाँ शिरामा सम्बन्धको विकास गर्नुपर्ने आवश्यकता औँल्याए।
अर्को प्रसंगमा उनले प्रदेश नं २ मा असोज २ को स्थानीय निर्वाचनमा आफ्नो पार्टी संघीय समाजवादी फोरम र राजपासँग तालमेल गर्ने पक्षमा रहेको जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।