नयाँ दिल्ली– भारत र अस्ट्रेलियाबीच आइतबारदेखि सुरु हुने एकदिवसीय क्रिकेट अगावै शिखर धवनले टोलीबाट आफ्नो नाम फिर्ता लिइसकेका छन्। यसै कारण अहिले भारतीय टोलीको प्रारम्भिक जोडीको विषय अलमलमा परेको छ।
तर, अर्का प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले धवनको स्थानमा अजिङ्क्या रहाणेले स्थान लिन सक्ने बताएका छन्। धवनले आफ्नो श्रीमतिको स्वास्थ्य अवस्था बिग्रिएपछि ३ वटा एकदिवसीय खेलबाट आफ्नो नाम फिर्ता लिएका थिए। उनको स्थानमा प्रारम्भिक ब्याटिङका लागि कसलाई उतार्ने भन्ने असमञ्जस चलिरहेको बेला रोहितको यो बयान बाहिर आएको हो।
हिटम्यानको उपनामले चर्चित रोहितले भने, ‘अजिङ्क्या विशेष खेलाडी हुन्। उनले वेष्ट इन्डिज भ्रमणमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। उनी म्यान अफ दि सिरिजसमेत घोषित भएका थिए। त्यसैले रहाणेले भोली मसँग ओपनिङ गर्नेछन्।’
रोहितले शिखरलाई गुमाउनु पर्दा उनको कमि महसुस हुने बताए। ‘च्याम्पियन्स ट्रफीदेखि नै शिखरले लगातार रन बनाउदै आइरहेका छन्। अस्ट्रेलियाविरुद्ध पछिल्लो शृंखलामा पनि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए। भारतीय टोलीको अहिलेको सफलतामा उनको ठूलो भूमिका छ,’ रोहित भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।