काठमाडौं– एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगितामा नेपाल फाइनलमा प्रवेश गरेको छ। मलेसियालाई १० विकेटले हराएर फाइनलमा पुगेसँगै एसिसीको यू–१९ प्रतियोगितामा नेपाल सातौं पटक फाइनलमा पुगेको हो।
नेपालले उपाधिका लागि आइतबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ। शनिबार भएको अर्काे सेमिफाइनलमा हङकङले सिंगापुरलाई ७ विकेटले पराजित गरेर नेपालसँगको भेट पक्का गरेको हो। फाइनलमा पुगेका नेपाल र हङकङ एसिया कपका लागि समेत छनोट भए।
यसअघि नेपालले ६ पटक फाइनलमा प्रतिस्पर्धा गरेको छ। ६ मध्ये नेपालले चार पटक उपाधि जितेको छ भने २ पटक उपविजेतामै सीमित बनेको छ। आइतबार हङकङलाई पराजित गर्न सके नेपालले पाँचौ पटक उपाधि जित्नेछ।
नेपाल सन् १९९९ को एसिसी यू–१९ एलिट कपको फाइनलमा पुगेको थियो। सिंगापुरमा भएको फाइनलमा नेपाललाई बंगलादेशले ६ विकेटले हराएको थियो। २००१ को फाइनलमा नेपालले मलेसियालाई ७ विकेटले हराएर उपाधि जितेको थियो। लागतार चार पटक उपाधि जित्ने क्रममा नेपालले सन् २००३ मा मलेसियालाई ३० रनले, सन् २००५ मा मलेसियालाई नै ७ विकेटले र २००७ मा अफगानिस्तानलाई ४८ रनले हराएर उपाधि जितेको थियो।
सन् २००९ को फाइनलमा पुग्न नसकेको नेपाल २०११ को प्रतिस्पर्धामा फाइनलमा पुग्यो। तर नेपाललाई अफगानिस्तानले ६१ रनले हराएर उपाधि जित्यो।
सन् २०१४ को एसिसी यू–१९ प्रिमियर लिगमा भने राउन्ड रोबिनको आधारमा भयो। प्रतियोगितामा नेपाल दोस्रो स्थानमा सीमित बनेको थियो। अफगानिस्तानले नेपाललाई पछि पारेर उपाधि जितेको थियो। २०१५ मा पनि नेपाललाई अंक तालिकामा पछि पारेर अफगानिस्तान च्याम्पियन बनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।