काठमाडौँ- त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसमा केन्द्रबाट खटिएका आन्तरिक लेखापरीक्षकको टोलीले अनियमितता गरेको भेटिएको छ।
त्रिविबाट काज लिएर गएका लेखापरीक्षकले क्याम्पसको आन्तरिक लेखापरीक्षण गर्ने क्रममा ती क्याम्पसलाई पनि थप आर्थिक भार पारिदिएको पाइएको हो।
अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकमा लामो समयदेखि क्रियाशील संस्था फ्रिडम फोरमको अगुवाइमा तारानाथ दाहाल लगायतले सूचनाको हकको प्रयोग गरी माग गरेको सूचना प्राप्त भएपछि सोको अध्ययनबाट यी तथ्यहरू सार्वजनिक भएका हुन्।
सूचना अध्ययन गर्दा धेरै क्याम्पसमा अत्यधिक बेरुजु रहेको, विभिन्न शीर्षकमा अनियमितता भएको, एकै मितिमा एकै व्यक्तिले दुईवटा क्याम्पसको आन्तरिक लेखापरीक्षण गरेको, काज लिएर जाँदा पनि क्याम्पसहरूलाई दोहोरो आर्थिक भारमा पारेको देखिएको छ।
गत माघ महिनामा त्रिविअन्तर्गतका ६० वटै आंगिक क्याम्पसमा आन्तरिक लेखा परीक्षण गर्न जाने टोलीको क्याम्पसले भुक्तानी दिएको खर्च विवरणसम्बन्धी सूचना माग गरिएको थियो।
सूचनाको हकसम्बन्धी ऐन २०६४ को समयसीमाभित्र सूचना उपलब्ध नभएपछि राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरिएको र सूचना दिनू भन्ने सूचना आयोगको आदेशपछि प्राप्त सूचना केलाउँदा आर्थिक अनियमितता भएको फेला परेको हो।
त्रिवि केन्द्रीय कार्यालय आन्तरिक लेखा परीक्षण महाशाखाबाट आव २०७२/७३ को आन्तरिक लेखा परीक्षणको कार्यादेश लिएर आर्थिक उपनियन्त्रकहरू विनोद केसी र गौतम शाक्य, लेखा अधिकृतहरू सुदर्शन थापा र राजेन्द्र लम्साल एक महिने भ्रमणमा निस्किएका थिए।
उनीहरूलाई २०७३ पुस २६ देखि माघ २६ भित्र पूर्व क्षेत्रका आंगिक क्याम्पसहरूको आन्तरिक लेखा परीक्षणको जिम्मा दिइएको थियो। केन्द्रीय कार्यालयबाट दैनिक भ्रमण भत्ता र यातायात खर्चसमेत पाउने गरी काज भ्रमणमा निस्किएको आन्तरिक लेखा परीक्षण टोली महेन्द्ररत्न क्याम्पस इलामको लेखा परीक्षण गरेबापत रु ६५ हजार ६४० खर्च गराएर फर्कियो।
लेखा परीक्षण अवधिमा खाएको, बसेको खर्च र केही यातायात खर्च अनि अन्य विविध खर्चहरू समेत क्याम्पसलाई व्यहोर्न लगाएर चार जनाको टोली लेखा परीक्षणको कार्य सम्पन्न गरी फर्कियो। त्रिविअन्तर्गतका निकायहरूको आर्थिक अनुशासन कायम राख्न र आर्थिक कारोबारमा आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउन गएको टोलीले नै नियमविपरीतको खर्च भुक्तानीलाई वैधता दिएपछि वर्षभरि हुने कारोबारमा कति आर्थिक अनियमितता हुन सक्ला भन्ने अनुमान जो कोहीले लगाउन सक्छ।
क्याम्पसका लेखा शाखाहरू पनि हरेक वर्ष आउने यस्ता टोलीलाई खुसी पार्ने, हिसाब मिलान गर्न लगाउने भित्री उद्देश्यले प्रेरित भएको हुन सक्छ वा टोलीले अनावश्यक दुःख दिने नियतले बेरुजुहरू लेखिदिने हो कि भन्ने त्रासमा रहेका हुन सक्छन्। आन्तरिक लेखापरीक्षण टोलीको खर्च व्यहोर्ने यो परम्पराले यसलाई पुष्टि पनि गर्दछ।
यही टोलीले तेह्रथुम बहुमुखी क्याम्पसमा पुगेर अतिथि सत्कारस्वरूप रु २ हजार ५ सयको खाना र बास खर्च क्याम्पसलाई छोडेर हिँड्यो। उता भोजपुर बहुमुखी क्याम्पस पुगेको आर्थिक उपनियन्त्रक गौतम शाक्य नेतृत्वको ३ जनाको टोलीले खाना, बास र यातायात खर्चवापत अतिथि सत्कार शीर्षकमा रु ५६ हजार ७०७ खर्च गराएर ३ दिनमा फर्किएको देखिएको छ। भोजपुरमा टोलीका आर्थिक उपनियन्त्रक विनोद केसीबाहेक ३ जना गत माघ ७ देखि ९ गतेसम्म लेखा परीक्षण कार्यमा बसेका थिए।
त्यही अवधिमा केन्द्रीय प्रविधि क्याम्पस, धरानको लेखा परीक्षणको क्रममा भएको खर्च भने क्याम्पसले गोप्य राखेको छ। क्याम्पसबाट प्राप्त सूचनामा ‘रजिष्ट्रारको कार्यालयबाट खटी आउने आन्तरिक लेखा परीक्षक टोलीको भ्रमण खर्चलगायत अन्य खर्च सोही कार्यालयबाट उहाँहरूलाई उपलब्ध गराइने हुँदा यस क्याम्पसको कुनै खर्च नभएको’ उल्लेख छ।
केन्द्रीय प्रविधि क्याम्पसले दिएको सूचनालाई सत्य मान्ने हो भने महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम, तेह्रथुम बहुमुखी क्याम्पस, र भोजपुर बहुमुखी क्याम्पसमा आन्तरिक लेखा परीक्षणको क्रममा भएका खर्च अनियमित हुन्।
धवलागिरि बहुमुखी क्याम्पस, बाग्लुङ्गमा गत वर्ष भदौ ८ सम्म आर्थिक उपनियन्त्रक विनोद केसी, लेखा अधिकृतहरू राजेन्द्र लम्साल र छत्रबहादुर कार्कीको टोलीले लेखा परीक्षण गर्दा भएको रु १२ हजार खर्च क्याम्पसले ब्यहोर्नुपरेको छ। उता पृथ्वीनारायण क्याम्पस, पोखराले क्याम्पसकै गेष्ट हाउसमा टोलीलाई खानेबस्ने व्यवस्था गरिदियो तर टोलीले खाना र बास निःशुल्क पाए पनि चिया खाजा खर्चबापत रु २२ हजार ८६४ बराबरको बिल क्याम्पसलाई तिराएको पाइएको छ।
त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा पुगेको आर्थिक उपनियन्त्रक गौतम शाक्य, लेखा अधिकृतहरू सुदर्शन थापा र रेशमलाल आचार्यको टोली अतिथि सत्कार शीर्षकमा रु ३९ हजार १८० बराबर खाना र बास खर्च र रु ७ हजार ५ सय यातायात खर्चसमेत क्याम्पसलाई तिर्न लगाएर फर्किएको छ।
टोलीले केन्द्रीय कार्यालयबाट त्यस क्षेत्रको आन्तरिक लेखा परीक्षण गर्न साउन २६ देखि भदौ २३ सम्म एक महिनाको काज भ्रमण लिएर गएको थियो। यही टोलीले भैरहवा क्याम्पस, सिद्धार्थनगर, रूपन्देहीमा होटलको बिल भरपाईसहित रु १२ हजार ९ सय खर्च क्याम्पसमा छोडेर फर्केको थियो। नियमानुसार दैनिक भ्रमण भत्ता लिने कुनै पनि कर्मचारीले होटलबास खर्च आफैं ब्यहोर्नुपर्छ।
उता पर्सा जिल्लामा रहेका ठाकुरराम बहुमुखी क्याम्पस, वीरगञ्ज र वीरजञ्ज नर्सिङ्ग क्याम्पसको आन्तरिक लेखा परीक्षण गर्न आर्थिक उपनियन्त्रकहरू यज्ञमूर्ति खरेल र बाबाकाजी थापासहित लेखा अधिकृतहरू हेमराज न्यौपाने र प्रेमराज श्रेष्ठको टोली साउन २६ देखि भदौ २३ सम्मको काज भ्रमण लिएर पुगेको थियो। एउटै टोलीले एउटै मितिमा २ वटै क्याम्पसमा लेखा परीक्षण गरेको देखिन्छ। दुवै क्याम्पसहरूमा टोलीको खर्च रु १२ हजार र रु १० हजार ५ सय गरी कुल रु २२ हजार ५ सय भएको देखिन्छ।
यसैगरी, उपनियन्त्रक बाबाकाजी थापा, लेखा अधिकृत प्रेमबहादुर श्रेष्ठको टोलीले महाराजगञ्ज चिकित्सा क्याम्पसमा लेखा परीक्षण गर्दा उनीहरूको खर्च खुलाइएको छैन। तर लेखा परीक्षण प्रतिवेदनमा रु २८ लाख ३२ हजार ३९३ अनियमित भएको उल्लेख गरिएको छ। आलेपको क्रममा भएको खर्च आलेप प्रतिवेदनमा नै उल्लेख गरेको छ भन्ने क्याम्पसले सूचना दिएपनि प्रतिवेदनमा सो खर्च खुलाइएको पाइएन।
यस्तै, वन विज्ञान अध्ययन संस्थान, हेटौंडामा आर्थिक उपनियन्त्रक यज्ञमूर्ति खरेल र लेखा अधिकृतहरू प्रेमबहादुर श्रेष्ठ र हेमराज न्यौपानेको टोलीले गत वर्ष भदौ ६ देखि १० सम्म लेखा परीक्षण गर्दा रु २ हजार ५५० खर्च भएको क्याम्पसले सूचना उपलब्ध गराएको छ।
उता बाँके जिल्लास्थित नेपालगञ्ज नर्सिङ्ग क्याम्पस पुगेको आर्थिक उपनियन्त्रक गौतम शाक्य र लेखा अधिकृत सुदर्शन थापाको टोलीले रु ३० हजार खर्च क्याम्पसको नाममा छोडेर फर्केको पाइएको छ। त्यस्तै सूर्यनारायण सत्यनारायण बहुमुखी क्याम्पसको लेखा परीक्षणमा गत वर्ष माघ २१ गतेदेखि २८ गतेसम्म बसेको लेखा नियन्त्रकद्वय प्रेम गिरी र बलेन्द्रराज गिरीको टोलीले रु ७ हजार ६७५ बराबरको खाना र बास खर्च गरेको र क्याम्पसले त्यसलाई विविध शीर्षकमा हालेको सूचना प्राप्त भएको छ।
काठमाडौँभित्र पनि उस्तै
जनप्रशासन क्याम्पस बल्खुमा पनि आर्थिक उपनियन्त्रक गौतम शाक्य र लेखा अधिकृत सुदर्शन थापाले आन्तरिक लेखा परीक्षण गरेका थिए। गत वर्ष कात्तिक ३० देखि मंसिर ३ सम्म भएको आन्तरिक लेखा परीक्षणमा रु १६ हजार १९९ खर्च क्याम्पसले ब्यहोर्नुपरेको जनाइएको छ।
महेन्द्ररत्न क्याम्पस, ताहाचलमा आर्थिक उपनियन्त्रक विनोद केसी र लेखा अधिकृत छत्रबहादुर कार्कीको टोलीले लेखा परीक्षण गर्दा खाना र बास खर्च रु ७ हजार ५८५ क्याम्पसले ब्यहोर्नुपरेको छ। टोलीले यो क्याम्पसमा गत वर्ष साउन ७ देखि ११ सम्म ५ दिन आन्तरिक लेखा परीक्षण गरेको थियो।
यसैगरी, रत्नराज्य क्याम्पस, काठमाडौँको आन्तरिक लेखा परीक्षण आर्थिक उपनियन्त्रक गीता उपाध्याय र लेखा अधिकृत मणिराज सुवेदीले गत वर्ष २०७३ जेठ १६ देखि २१ गतेसम्म गरेको पाइयो। ६ दिनमा लेखा परीक्षण गर्दा यो टोलीका लागि कति खर्च भयो भन्ने सूचना क्याम्पसले लुकाएको छ। आलेप प्रतिवेदनमा थुप्रै शीर्षकमा आर्थिक अनियमितता भएको भनी बेरुजु निकालिएको छ र असुलउपर गर्नुपर्ने भनी प्रतिवेदनले औंल्याएको छ।
यसरी देशभर ६० वटा आंगिक क्याम्पसहरूमध्ये एक चौथाइ अर्थात् १५ वटा क्याम्पसहरूको आन्तरिक लेखा परीक्षण गर्दा केन्द्रीय कार्यालयबाट भ्रमण आदेश लिएर खटिएका टोलीले रु ३ लाख ९ हजार १८० बराबरको आर्थिक व्ययभार क्याम्पस प्रशासनमाथि थोपरिदिएका छन्।
अन्य क्याम्पसहरूले वास्तविक खर्च विवरणको सूचना लुकाएका छन्। केन्द्रीय कार्यालयबाट दैनिक भ्रमण भत्ता र यातायात खर्च भुक्तानी लिने गरी गएको टोलीले सम्बन्धित क्याम्पसहरूमा गई दोहोरो खर्च गराउनु आर्थिक अनियमितताको ज्वलन्त उदाहरण हुन्।
यसरी आन्तरिक लेखा परीक्षणका लागि काजमा खटिने टोलीले त्रिवि ऐन २०४९ र त्रिवि आर्थिक प्रशासनसम्बन्धी नियम २०५० अनुसार केन्द्रबाटै दैनिक भ्रमण भत्ता र यातायात खर्चसम्बन्धी सेवा सुविधा लिएका हुन्छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।