काठमाडौं- नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा भातृ संस्था गठन तथा पूर्णताको विषयले आज (बुधबार)बाट प्रवेश पाउने भएको छ।
असार २२ को केन्द्रीय समितिको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पेस गरेका १४ प्रस्तावमाथि छलफल हुने क्रममा भातृ/शुभेच्छुक संस्थाको विधान संशोधन र कार्यसमितिको मान्यता प्रदान गर्न आजदेखि छलफल सुरु हुने भएको हो।
अवधि समाप्त भएका भातृ तथा शुभेच्छुक संस्था आधा दर्जन बढीको संख्यामा छन्। नेपाल विद्यार्थी संघ नेतृत्वविहीन भएको ६ महिना बितेको छ। माउ पार्टी नेपाली कांग्रेसले नेविसंघको विषयमा निर्णय लिन नसक्दा संघ नेतृत्वविहीन भएको हो। थपिएको पाँच महिने अवधिमा समेत नैनसिंह महरको कार्यसमितिले १२औं महाधिवेशन गर्न नसकेपछि उक्त कार्यसमिति भंग गरिएको थियो।
उमेर हदबन्दी कायम गर्ने/नगर्ने मतान्तर पछिल्लो समयमा तदर्थ समितिको नेतृत्व कसलाई दिने भन्ने तहमा पुगेर अड्किएको छ। पार्टीका तीन समूहले आफ्नो पक्षका विद्यार्थी नेतालाई तदर्श समितिको नेतृत्व सुम्पन प्रयासरत छन्। संस्थापन समूहबाट ऋषिकेश शाह, सरोज थापा, प्रेमराज जोशी, प्रकाश घिमिरेलगायतका विद्यार्थी नेता संघको नेतृत्वका आकांक्षी छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट मनोजमणि आचार्य, दिपक भट्टराई, शिव रिमाल, सागर परियारले तदर्थ समितिको नेतृत्व पाउनुपर्ने दाबी गरिरहेका छन्। तेश्रो समूहबाट ३२ वर्षे उमेर कायम नभएको अवस्थामा निर्वतमान महामन्त्री कुन्दनराज काफ्ले अघि देखिएका छन्। उमेर हद लागू भए उक्त समूहबाट आधा दर्जन विद्यार्थी नेता नेतृत्वको दौडमा हुनेछन्।
कार्तिकमा कार्यकाल सकिन लागेको तरुण दल हालसम्म ४ जनामा मात्रै सीमित छ। पार्टी नेतृत्वको ‘अकर्मण्यता’का कारणले पूर्णता पाउन नसकेको तरुण दलका महासचिव भुपेन्द्रजंग शाही बताउँछन्। अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा क्रमशः जितजंग बस्नेत, उत्तम चापागाईं, भुपेन्द्रजंग शाही र विद्धान गुरुङ छन्।
पार्टीले विधान उपलब्ध नगराएको बहाना बनाई दलित संघले कार्यावधि ४ वर्ष बढाइसकेको छ। केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सदस्य रहेका मीन विश्वकर्माको नेतृत्वमा रहेको दलित संघको कार्यकाल २०७२ फागुनमै सकिएको थियो।
प्रजातान्त्रिक सेनानी संघ, आदिवासी जनजाति संघ, नेपाल किसान संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल ठाकुर समाज, तामाङ संघलगायतका भातृ संस्थाले वर्षौंदेखि महाधिवेशन गर्न सकेका छैनन्।
जनसम्पर्क समितिका विषयमा पनि जारी बैठकमा छलफल हुने भएको छ। विवाद रहेको बेल्जियमको विवाद साम्य भएको छ। जापान र अमेरिकामा विवादका कारणले अधिवेशन गर्न सकेका छैनन्।
कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो २ बजे बस्नेछ। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।