काठमाडौं– एसिसी यू-१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा नेपाल र मलेसियाबीच प्रतिस्पर्धा भइरहेको छ। मलेसियाको बायुमास ओभलमा टस जितेको नेपालले पहिले बलिङ गरिरहेको छ।
४१ ओभरको खेल सकिदा मलेसियाले ९ विकेटको क्षतिमा १२० रन जोडेको छ। नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले ५ विकेट लिएका छन्। रोहित पौडेल, सन्दीप लामिछाने, पवन शर्राफ र सहाब अलामले पनि १-१ विकेट लिए। सहाबले मलेसियाका डे सिल्भालाई ३९ रनमा अाउट गरेका हुन्। फाइनल पुग्ने टोली यू–१९ एसिया कपको लागि छनोट हुनेछ।
समूह ‘ए’ मा लगातार तीन खेलमा जित निकालेको नेपालले मलेसियलाई हराएर फाइनल पुग्ने लक्ष्य राखेको छ। तर घरेलु टोली मलेसियालाई कमजोर आँकेर गल्ति नगर्ने नेपालका प्रशिक्षक विनोद दासले बताएका छन्। प्रतियोगिताको उपाधि जित्ने लक्ष्य बनाएका दासले मलेसियाविरुद्ध आफ्नो क्षमता प्रदर्शन गर्ने नेपाल लाइभलाई बताए।
प्रतियोगिताअन्तर्गत अर्काे सेमिफाइनलमा हङकङ र सिंगापुरबीच प्रतिस्पर्धा भइरहेको छ। नेपाल जस्तै हङकङ पनि प्रतियोगिताको अपराजित टोली हो। हङकङले समूह चरणमा मलेसिया, म्यानमार र चीनलाई हराएको थियो। नेपालले भने थाइल्यान्ड, भुटान र सिंगापुरलाई आफ्नो सिकार बनायो।
नेपालले पछिल्लो तीन महिनामा मलेसियाको युवा टोलीसँग प्रतिस्पर्धा गर्न लागेको यो तेस्रो पटक हो। तीन महिनाअघि सिंगापुरमा भएको आइसिसी यू–१९ विश्वकप छनोटमा नेपाल र मलेसिया दुई पटक भिडेका थिए। दुवै खेलमा नेपालले मलेसियलाई हराएको थियो। पहिलो खेलमा नेपालले मलेसियामाथि ५ विकेटको जित निकालेको थियो। खेलमा मलेसियाले दिएको ६० रनको झिनो लक्ष्य भेट्टाउन नेपालले ५ विकेट गुमाएको थियो। दोस्रो खेलमा पनि नेपाल ५ विकेटले नै विजयी भयो । तर ब्याटिङमा सुधार आउन सकेन। ९० रनको लक्ष्य पछ्याउदा नेपालले ५ विकेट गुमायो ।
लाइभ अपडेटका लागि यहाँ क्लिक गर्नुस्।
लाइभ हेर्नुस् :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।