



क्याम्प नेउ– बार्सिलोना अध्यक्ष जोसेप मारिया बार्टोमेउले क्लबका स्टार स्ट्राइकर लिओनल मेसीको सम्झौता २०२१ सम्मका लागि नवीकरण गरेको स्पष्ट पारेका छन्। मेसीको सम्झौता हालसम्म नवीकरण नभएको कुरा फैलिएपछि उनले स्पेनको एउटा टेलिभिजनमा स्पष्टीकरण दिएका हुन्।
उनले मेसीको समम्झौता नवीकरण गर्ने विषयमा उनका बुवा जर्जेसँग कागजमा हस्ताक्षर भइसकेको बताए। मेसीको नवीकरणको विषयमा यसअघि पनि विभिन्न टिकाटप्पणी चल्दै आइरहेको थियो। यसपछि बार्सिलोनाले गत जुलाईमा मेसीसँग ४ वर्षको सम्झौता नवीकरण गर्ने स्पष्टीकरण दिएको थियो।
मेसीसँग सम्झौताको मिति सार्वजनिक भएपनि हस्ताक्षर भएको कागज अहिलेसम्म बार्सिलोनाले सार्वजनिक गरेको छैन्। यस्तै,कुनै कार्यक्रमको आयोजना गर्दै यसलाई औपचारिक पनि गरेको छैन्।
३० वर्षीय मेसीको विषयमा दुई दिनअघि स्पेनको टेलिभिजनलाई अन्तर्वार्ता दिएका क्लब अध्यक्षले बार्सिलोनाको आधिकारी साइटमा पनि भनेका छन्, ‘लिओका बुवाले हस्ताक्षर गरेका छन्। त्यसैले अब तस्बीर लिन मात्र बाँकी छ।’
मेसीको उपस्थितिमा बार्सिलोनाले ८ पल्ट ला लिगा, ४ पल्ट च्याम्पियन्स लिग, ५ पल्ट कोपा डे रेको उपाधि जितेको छ। उनले गत मंगलबार च्याम्पियन्स लिगको यस सिजनको पहिलो खेलमै युभेन्ट्सविरुद्ध ३–० ले विजयी खेलमा २ गोल गरेका थिए। ला लिगाको ३ खेल समाप्त हुँदा हाल बार्सिलोना शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।