पछिल्ला केही वर्षयता बलिउड आफ्नो छवि बदल्ने प्रयासमा छ । बलिउड 'लार्जर देन लाइफ'को फ्रेमबाट आम मानिसका भोगाइलाई आफ्नो एक्सन कटको विषयवस्तु बनाउन थालेको छ । जसको स्वादलाई दर्शकले आत्मसात् पनि गरिरहेका छन् । बलिउडले नायकप्रधान फिल्मलाई विस्तारै नायिकाप्रधान पनि बनाउन थालेको छ।
शुक्रबार रिलिज भएको कंगना रनावत स्टारर 'सिमरन'ले एउटी गैरआवासीय भारतीय महिलाको कथा भन्छ । फिल्मले अमेरिकाको एटलान्टा सहरमा बस्ने ३० वर्षीया 'डिभोर्सी' गुजराती युवती प्रफुल्ल पटेलको कथा पस्किएको छ।
डिभोर्सपछि होटलमा हाउसकिपिङको काम गर्ने प्रफुल्ल आफ्ना लागि घर किन्न चाहन्छे । स्वतन्त्रतापूर्वक बाँच्ने उसको चाहना हुन्छ । उसका बाबु-आमा भने छोरीको एकपटक टुटेको घरजम फेरि होस् र जीवन सेटल लेओस् भन्ने चाहन्छन्।
तर, प्रफुल्लको फरक प्राथमिकताले उसलाई अन्तै बगाउँछ । घर किन्न ऋणको दौडधुपमा लागेकी प्रफुल्लको लस भेगास यात्राले उल्टै ५० हजार अमेरिकी डलर ऋण बोकाइदिन्छ । उनले पहिले जम्मा पारेको सबै पैसा नशाको सुरमा जुवाघरमा हार्छिन् । त्यसपछि जटिल हुनपुगेको प्रफुल्लको जीवनकथा नै 'सिमरन'को कथा हो।
फिल्मको नाम 'सिमरन' भए पनि यो कुनै सिमरनको कथा भने होइन । शाहरूख खान अभिनीत 'दिलवाले दुल्हनिया ले जायंगे'को एक प्रसंगलाई सापटी लिँदै प्रफुल्ललाई फिल्मले इंगित गरेको छ, जो आफ्नो जीवन आफ्नै तरिकाले जिउन चाहन्छे।
हंसल मेहेता निर्देशित यस फिल्मले डायस्पोरामा बस्ने मध्यमवर्गीय भारतीय समुदायको मनोविज्ञानलाई पनि प्रस्तुत गर्छ । फिल्मले एउटा 'डिभोर्सी' महिलाको संघर्ष र समाजसँग हुने अन्तरद्वन्व्रलाई केलाउने प्रयास गरेको छ 'प्रफुल्ल' चरित्र मार्फत । फिल्म भारतीय भए पनि निर्देशक मेहेताले 'सिमरन'को विम्बबाट दक्षिण एसियाली समाजले महिलालाई कसरी हेर्छ र उसको मनोकांक्षालाई दबाउने प्रयास गर्छ भन्ने कुरालाई प्रस्तुत गरेका छन्।
फिल्मको केन्द्रीय भूमिकामा कंगनाको असरदार अभिनय छ । चरित्रलाई जीवन्त बनाएकी उनको यो फिल्ममा 'क्विन' फिल्ममा भन्दा अझ दरिलो काम देखिन्छ । उनको निखारिएको अभिनयले यो भूमिकालाई अरू कोहीले न्याय गर्न सक्थे भन्ने सोच्नै दिँदैन । यस अर्थमा यो फिल्म कंगनाको लागि पनि हेरिनेछ।
यसअघि ३ राष्ट्रिय अवार्ड जितिसकेकी कंगनाको लागि 'सिमरन' ले अवार्डको संख्या बढाउने सम्भावना बलियो पारेको छ।
चार बैंक डकैतीको आरोप लागेकी भारतीय मूलकी अमेरिकी नागरिक सान्दिप कौरको जीवनमा आधारित यस फिल्मले खासगरी महिला दर्शकलाई प्रशंसक बनाउँछ।
केही ठाउँमा दृश्यहरू अनावश्यक तन्काइएको महसुस भए पनि फरक स्वादको फिल्म रूचाउने दर्शकका लागि राम्रो खुराक बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।