काठमाडौं- २ नम्बर प्रदेश यतिबेला स्थानीय तह निर्वाचनले तातेको छ। चुनावी माहोलले नेपाली फिल्मका एक्सन स्टार निखिल उप्रेतीलाई पनि छोडेन। निखिल यतिबेला आफ्ना सासंद दाजु हरि उप्रेतीको निवार्चन क्षेत्र सर्लाही–४ का स्थानीय तहमा प्रचारप्रसारमा व्यस्त छन्। उनका दाजु दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका हुन्। पहिलो संविधानसभामा भने उनी पराजित भएका थिए।
निखिल ४ दिनदेखि गृहजिल्ला सर्लाहीमै छन्। नेपाल लाइभसँग कुरा गर्दै निखिलले आफू गाउँ कम आउने भएकाले चुनावको मौका छोपेर प्रचारप्रसारसँगै भेटघाटका लागि गाउँमा आएको बताए।
'सबै परिवार, आफन्त यतै हुनुहुन्छ। गाउँ कमै आउँछु, त्यसैले चुनावको बेला भेटघाट गर्न आएको हुँ।'
आफू निर्मित फ्लिम 'रूद्र'बाट डेब्यू गराएका नायक विश्व कटुवालकी आमा कल्पना कटुवाल निखिलको गाउँ बर्थवा नगरपालिकाबाट एमालेबाट मेयर उम्मेदवार भएकाले उनलाई सघाउन आएको निखिलले बताए। उनले चुनाव प्रचारको अन्तिम दिन शुक्रबार रातिसम्म नगरपालिकामा प्रचारप्रसारमा खटिने बताए।
'अघिल्लो पटक करिब १५ दिन दाइको चुनाव प्रचारमा खटिएको थिएँ। यसपटक कार्यव्यस्तताले भने जति समय दिन सकिएन,' उनले ढुक्क हुँदै भने, 'यहाँ नेपाली कांग्रेससँग प्रतिस्पर्धा हुने देखिएको छ। तर जित हाम्रै उम्मेदवारको हुन्छ।'
आफ्नो कलाकार छविको बचाउ गर्दै उनले थपे, 'दाइको पार्टीलाई सघाउन आएको हुँ। दाइलाई सघाउन आएको भनेपछि भोट माग्दा कसलाई भनिरहनु पर्दैन। सबैले बुझ्छन्।'
निखिलले चुनाव प्रचारका क्रममा गोष्ठी-सभातिर भन्दा पनि ठाउँठाउँमा गएर मानिसहरू भेट्नमा समय खर्चिरहेको जानकारी दिए।
निखिलले आफू दाजु र उनको पार्टीका लागि चुनावमा सघाउन आएको भए पनि राजनीति गर्ने सोच भने नभएको स्पष्ट पारे।
'सकभर राजनीतिमा आउँदिन। यो ठाउँ हामीजस्ताका लागि उपयुक्त छैन। हामी जस्ता दुई दिनमा आउट हुन्छन्,' आफूले बुझेको राजनीतिको व्याख्या दिँदै निखिलले भने, 'यहाँ सिन्डिकेट मिलाउन सक्नेहरू मात्र टिक्छन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।