काठमाडौं– एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार नेपाल र मलेसिया सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन्।
समूह ‘ए’ मा लगातार तीन खेलमा जित निकालेको नेपालले मलेसियलाई हराएर फाइनल पुग्ने लक्ष्य राखेको छ। तर घरेलु टोली मलेसियालाई कमजोर आँकेर गल्ति नगर्ने नेपालका प्रशिक्षक विनोद दासले बताएका छन्। प्रतियोगिताको उपाधि जित्ने लक्ष्य बनाएका दासले मलेसियाविरुद्ध आफ्नो क्षमता प्रदर्शन गर्ने नेपाल लाइभलाई बताए।
‘हाम्रो लक्ष्य निरन्तर अगाडि बढ्ने हो, प्रत्येक खेलमा आफ्नो दक्षता बढाउँदै लैजान्छौं’ दासले भने, ‘ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा उत्कृष्ट खेल्नु पर्नेछ।’
नेपालले पछिल्लो तीन महिनामा मलेसियाको युवा टोलीसँग प्रतिस्पर्धा गर्न लागेको यो तेस्रो पटक हो। तीन महिनाअघि सिंगापुरमा भएको आइसिसी यू–१९ विश्वकप छनोटमा नेपाल र मलेसिया दुई पटक भिडेका थिए। दुवै खेलमा नेपालले मलेसियलाई हराएको थियो। पहिलो खेलमा नेपालले मलेसियामाथि ५ विकेटको जित निकालेको थियो। खेलमा मलेसियाले दिएको ६० रनको झिनो लक्ष्य भेट्टाउन नेपालले ५ विकेट गुमाएको थियो। दोस्रो खेलमा पनि नेपाल ५ विकेटले नै विजयी भयो । तर ब्याटिङमा सुधार आउन सकेन। ९० रनको लक्ष्य पछ्याउदा नेपालले ५ विकेट गुमायो ।
यसपटक भने नेपालले ब्याटिङमा सुधारको अपेक्षा गरेको छ। प्रशिक्षक दासले मलेसियाबिरुद्ध शुक्रबार हुने खेलमा ब्याटिङमा सुधार आउने बताए।
प्रतियोगिताअन्तर्गत अर्काे सेमिफाइनलमा हङकङ र सिंगापुर प्रतिस्पर्धा गर्दैछन्। नेपाल जस्तै हङकङ पनि प्रतियोगिताको अपराजित टोली हो। हङकङले समूह चरणमा मलेसिया, म्यानमार र चीनलाई हराएको थियो। नेपालले भने थाइल्यान्ड, भुटान र सिंगापुरलाई आफ्नो सिकार बनायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।