कांग्रेस नेता प्रदीप गिरीले ओली राष्ट्रवादलाई निरुत्साहित गर्न कांग्रेस अगाडि बढेको बताएका छन्।
सिरहा नगरपालिकाका चुनावी सभालाई सम्बोधन गर्दै गिरीले एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै मधेश जलिरहेको बेला एमाले नेताहरुको अभिव्यक्ति सम्झन आग्रह गरे।
‘समथर भूमि चाहिएको छ? बिहार गए हुन्छ, संविधान संशोधन चाहियो भने लखनउ गए हुन्छ, रुखबाट दुईचार वटा आँप झर्दैमा फरक नपर्ने’,ओलीको विगतका अभिव्यक्ति स्मरण गर्दै गिरीले प्रश्न गरे, ‘यस्ता अभिव्यक्ति दिने पार्टीबाट देश र जनता कसरी सुरक्षित हुन सक्छन्?’
उनले कांग्रेस उत्तेजक र मनस्थिति भड्काउने कुरा नगरेर सबैलाई मिलाएर अगाडि बढ्ने पार्टी भएको बताए।
दसगजाको भुमिमा हिन्दुस्तान क्षेत्रबाट केही भयो भने मधेशी र उत्तरी सीमा चीनतिरबाट कुनै बितण्डा भयो भने हिमालीले खबरदारी गर्ने यथार्थ औंल्याउदै भने, ‘देशका लागि रक्षाकवचको रुपमा रहेका मधेशीलाई दोश्रो दर्जाको नागरिक भन्नु र हिमाली भेगमा अर्को नारा दिनु उचित छैन।’ उनले दोधारे कुरा गरे जनताले शान्तिको साटो सास्ती मात्र पाउने बताए।
‘आर्थिक र आधुनिक दृष्टिले अगाडि बढिरहेका चीन र भारतसँग निहुँ खोजेर देशलाई फाइदा छैन’, उनले थपे, ‘पाएको सहयोगलाई सदुपयोग गर्दै आफ्नो खुट्टामा उभिने प्रयास गर्नुपर्छ।’
उनले कहिले भारत र कहिले मधेसीलाई गाली गर्दै आफूलाई राष्ट्रवादी प्रदर्शित गर्ने ओली प्रवृत्ति देशका लागि राम्रो नभएको बताए।
‘आफ्नै देशका नागरिकमाथि जबर्जस्ती शंका गर्नु, गिज्याउनु र बिहारी भन्नु कस्तो राष्ट्रवाद हो?’ उनले भने, ‘यस्तो दोधारे राष्ट्रवाद कांग्रेसको सामु चल्दैन।’ उनले कांग्रेस हिमाली, पहाडी र मधेसी सबैलाई मिलाएर चल्न चाहने बताए।
उनले राष्ट्रियता कसैको विर्ता नभएको पनि प्रष्ट पारे। भने, ‘कसैले भन्दैमा मधेसी बिहारी र दोश्रो दर्जाको नागरिक बन्दैनन्। गर्वसँग आफू मधेसी छु भन्नुस्।’
देशलाई बनाउने जिम्मेवारी जति खोटाङबासीको छ, उत्तिकै सिरहाबासीको पनि छ’, उनले भने, ‘कांग्रेसको दृष्टिमा सबै भेगका नागरिक समान हो।’
मधेशका क्षेत्रीय पार्टीप्रति संकेत गर्दै उनले भने, ‘स्थापना दिवस पनि मनाउन नपाउँदै टुक्रा हुने पार्टीले जनताको हितमा काम गर्छु भन्नु सपना मात्र हुनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।