काठमाडौं- कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य वेदुराम भुसालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको चाहना अनुसार नेकपा सचिवालय सदस्यको वरीयताक्रम हेरफेर गरिएको बताएका छन्।
वरीयता हेरफेरमा दुवै अध्यक्षको चाहना देखिए पनि ओलीको चाहनाले बढी काम गरेको भुसालको ठम्याइ छ। अध्यक्ष ओलीको कहिले कसलाई उचाल्ने, कहिले कसलाई उचाल्ने चाहना देखिएको उनले तर्क गरे।
‘वरीयता हेरफेर खास गरेर दुई नेताको चाहनाले भएको हो। त्योभन्दा अरु केही पनि होइन,’ नेपाल लाइभको कार्यक्रम 'समय संवाद'मा पुष्पा केसीसँगको कुराकानीमा नेता भुसालले भने, ‘पार्टी एकता हुँदा आफूलाई दोस्रो नम्बरमा राखेकोमा झलनाथ खनालले असहमति जनाउनुभएको थियो। उहाँलाई पनि त्यो नम्बरबाट माथि उक्लिने चाहना थियो। अहिले ओलीले नै झलनाथलाई अगाडि राख्ने, माधव नेपाललाई पछाडि राख्ने चाहना राख्नुभयो ।’
तर, अध्यक्षद्वयको यो चाहनाले वरिष्ठ नेता नेपाललाई कुनै फरक नपर्ने भुसालले दाबी गरेका छन्। कुनै कारण र आधारबिनै वरीयता हेरफेर गरिएको उनको टिप्पणी छ।
'वरीयता हेरफेरबाट माधव नेपाललाई मानमर्दन गर्न सकिन्छ कि भन्ने आशय पनि अध्यक्ष ओलीमा देखिएको छ,' उनले भने।
माधव नेपालको भूमिका २०३१ सालदेखि नै रहेको स्मरण गर्दै भुसालले नेता नेपाल निरन्तर शीर्ष स्थानमा भएकाले कहिले तल झर्दैमा वा उक्लिँदैमा त्यसले कुनै असर नपर्ने बताए।
नेता भुसालले पार्टीभित्र माधव नेपाल एकातर्फ अरु सबै अर्कातर्फ भनेर भइरहेका प्रचारको खण्डन पनि गरेका छन्।
‘तत्कालीन नेकपा एमालेको महाधिवेशनमा दुई अध्यक्षका उम्मेद्वारमध्ये माधव नेपाल एक हुनुहुन्छ। केपी ओलीसँग उहाँले ५३ मतले हार्नुभएको हो। त्यति मात्रै त हो नि शक्तिमा,’ भुसालले भने, ‘अहिले बीचमा वामदेव गौतम, झलनाथ खनाल यता लाग्नुभयो, उता लाग्नुभयो भनेको मिडियामा चर्चा चलेको छ। उतिबेलादेखि नै उहाँहरु त्यस्तै अवस्थामा हुनुहुन्थ्यो। महाधिवेशन बेलादेखिको उहाँहरुको पोजिसन त्यही हो।’
माधव नेपालसँगको पुरानो समूह अहिले पनि स्थिर भएकाले अहिलेका निर्णयले कुनै असर नपार्ने नेता भुसालको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।