वीरगञ्ज– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीको स्थापना र स्थायित्वको नेतृत्व गरेको नेपाली कांग्रेसले आर्थिक विकास र समृद्धिको पनि नेतृत्व गर्ने बताएका छन्।
पर्साको पोखरीयामा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा नेता पौडेलले विभिन्न कालखण्डमा भएका आन्दोलनको नेतृत्व नेपाली कांग्रेसले नै गरेको बताए। उनले देशबाट जहानियाँ राणा शासकदेखि राजासम्मलाई हटाउन कांग्रेसले निभाएको भूमिकाको पनि चर्चा गरे। काँग्रेसकै कारणले लोकतान्त्रिक पद्धति स्थापित भएको दाबी समेत गरे।
उनले देशको विकासका लागि कांग्रेसको नेतृत्व अपरिहार्य रहेको उल्लेख गर्दै विकास र समृद्धिको परिकल्पना र कार्यक्रम नेपाली कांग्रेससँग मात्रै भएकोले यस अभियानको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्ने बताए।
नेता पौडेलले सबैको मुहारमा खुसी ल्याउनका लागि स्थानीय तहमा नेपाली कांग्रेसका उम्मेद्वारलाई जिताउनु पर्ने जिकिर पनि गरे।
कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा सांसद राजेन्द्रबहादुर अमात्य, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले सम्बोधन गरेका थिए। पूर्व जिल्ला सभापति तथा नेपाली कांग्रेसका नेता जनार्दन सिंह क्षेत्री, नेताहरु रामेश्वर रौनियार, श्याम पोखरेल लगायतका नेताहरुले पनि सम्बोधन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।