काठमाडौं– एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको समूह चरणका खेल सकिएका छन्। समूह ‘ए’ बाट नेपाल र सिंगापुर तथा समूह ‘बी’ बाट हङकङ र आयोजक मलेसियाले सेमिफाइनलमा स्थान बनाएका छन्। सेमिफाइनलमा नेपाल र मलेसिया तथा हङकङ र सिंगापुरबीच शनिबार खेल हुँदैछ।
समूह चरणमा नेपाल र हङकङले लगातार तीन खेलमा जित हात पारे। सिंगापुर र मलेसियाले एक–एक खेलमा हार ब्यहोरे। तीन खेलमा जित निकाल्दा प्रतियोगितामा नेपालका तीन खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन्।
प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचीको पहिलो स्थानमा नेपालका सन्दीप लामिछाने छन्। ब्याटिङतर्फ राम्रो स्ट्राइक रेट तथा एकै खेलमा बढी रन प्रहार गर्ने खेलाडीको सूचीमा नेपालका मध्यक्रमका ब्याट्सम्यान अनिल साह छन्। किफायती बलिङ गर्ने खेलाडी पनि नेपालकै पवन शर्राफ छन्।
सन्दीपले समूह चरणका तीन खेल सकिँदा १२ विकेट लिइसकेका छन्। सन्दीपले थाइल्यान्ड बिरुद्ध ७ विकेट लिएका थिए। एसिसी यू–१९ प्रतियोतिगामा कीर्तिमान बनाउन १ विकेटले चुकेका सन्दीपले ४ ओभर बलिङ गर्दा १ मेडन राखे। त्यसक्रममा सन्दीपले ६ रन मात्र खर्चिए। सन्दीपले भुटान विरुद्ध ४ विकेट लिए। भुटान विरुद्ध ७ ओभर बलिङ गर्दा सन्दीपले ३ मेडन राखे भने ७ रननै खर्चिए। सन्दीपले सिंगापुर विरुद्ध १ विकेट लिए। समूह चरणका सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा हङकङका हर्पित सिंह छन्। उनले ८ विकेट लिइसकेका छन्।

समूह चरणका तीन खेलमा ब्याटिङ गरेका अनिल साहको स्ट्राइक रेट १२०.२१ छ। उनले ५६.५ को औसतमा रन बनाएका अनिलले तीन खेलमा कुल १ सय १३ रन बनाएका छन्। प्रतियोतिगाको राम्रो स्ट्राइक रेट भएको खेलाडीको सूचीको दोस्रो स्थानमा मलेसियाका सइद मुबारक छन्। उनको स्ट्राइक रेट १०७.५० छ।
अनिल अहिलेसम्म एकै खेलमा सर्वाधिक रन प्रहार गर्ने खेलाडी पनि हुन्। अनिलले थाइल्यान्ड विरुद्ध ९१ रन प्रहार गरेका थिए। भुटान विरुद्ध नटआउट ४ रन बनाएका अनिल सिंगापुर विरुद्धको खेलमा १८ रनमा आउट भएका थिए। अनिल समूह चरणका सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी समेत हुन्। अनिलले अहिलेसम्म ५ छक्का प्रहार गरिसकेका छन्।
समूह चरणकै सबैभन्दा किफायती बलिङ गरेका नेपालका पवन शर्राफले सिंगापुर विरुद्ध ६ विकेट लिए। पवनले ८ ओभर बलिङ गरेर ४ मेडन फ्याँक्दा केवल १२ रन खर्चिए। पवनले खेलमा १.४५ को इकोनोमीमा बलिङ गरेर समूह चरणकै उत्कृष्ट बलिङ गर्न सफल भए। समूह चरणमा राम्रो इकोनोमीमा बलिङ गर्ने खेलाडीको सूचीमा नेपालकै सन्दीप लामिछाने छन्। सन्दीपको इकोनोमी १.६ छ।
समूह चरणमा सर्वाधिक रन भने सिंगापुरका सिद्धान्तले बनाएका छन्। उनले तीन इनिङमा १ सय २२ रन बनाएका छन्। दोस्रो स्थानमा रहेका नेपालका अनिल साहले सिद्धान्त भन्दा ९ रन कम प्रहार गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।