काठमाडौँ- तत्कालीन एकीकृत नेकपा माओवादीका महासचिव पोष्टबहादुर बोगटीको आज तेस्रो स्मृति दिवस।
माओवादीका नेता-कार्यकर्ताहरुले उनको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनीहरुले बोगटीको अभिभावकत्व पार्टीभित्र अझै खड्किएको बताएका छन्।
बोगटीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलन र सर्वहारा वर्गका लागि बोगटीको योगदान अनुकरणीय र प्रेरणादायी रहेको फेसबुकमा लेखेका छन्। 'विश्वका सर्वहारा वर्गका अथ योद्धा, सरल, इमानदार एवं निष्ठावान नेता कमरेड पोष्टबहादुर बोगटीप्रति हार्दिक श्रद्धाञ्जली,' प्रचण्डले लेखेका छन्।
माओवादी केन्द्रका सचिव टोपबहादुर रायमाझीले सामाजिक परिवर्तनको योद्धा र पार्टीको अभिभावकको निधनले अपुरणीय क्षति भएको प्रतिक्रिया दिएका छन्। 'पार्टीमा अन्तरद्वन्द हुँदा उहाँले सबैलाई मिलाउनुहुन्थ्यो। नेतृत्वलाई सहयोग गर्नुहुन्थ्यो,' उनले भने, 'उहाँजतिको समायोजनकारी भूमिका निर्वाह गर्ने व्यक्ति अहिले पार्टीमा नहुँदा हामीलाई उहाँको अभाव सधैँ महसुस भइरहेको छ।'
पार्टी प्रवक्ता पम्फा भुषाल निष्ठावान नेताको निधनले पार्टीलाई क्षति पुगेको बताउँछिन्। बोगटीलाई स्मरण गर्दै उनले भनिन्, 'नेतृत्वले गलत गरे नेतृत्वलाई सपार्ने र अरुले नेतृत्वलाई असहयोग गरे उनीहरुलाई समेत सच्याउने काम बोगटीले गर्नुहुन्थ्यो। पार्टीले असल अभिभावक गुमायो।'
२०१० सालमा नुवाकोटमा जन्मिएका बोगटीको २०७१ भदौ ३० मा हृदयाघातका कारण निधन भएको थियो। २०६९ मा हेटौँडामा भएको महाधिवेशनबाट उनी पार्टी महासचिवमा चयन भएका थिए। पार्टीभित्र आन्तरिक कलह उत्पन्न हुँदा संवाद गराएर समाधान निकाल्न बोगटी अग्रसर हुन्थे। पार्टीभित्र विवादित नभएका उनी अध्यक्ष प्रचण्डका विश्वास पात्र थिए। माओवादी जनयुद्धका क्रममा बोगटीले छोरा गुमाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।