नेपालगन्ज- सुर्खेतमा निर्माण भइरहेको भेरी–बबई डाइभर्सन बहुद्देश्यीय आयोजनाको सुरुङ खन्ने विशेष प्रविधियुक्त टनेल बोरिङ मेसिन (टिबीएम) निर्माण स्थलमा आइपुगेको छ।
चीनबाट मेसिनका पार्टहरु झिकेर ५५ वटा कन्टेनरमार्फत आयोजना निर्माणस्थलमा ल्याइएको हो। छुट्याएर ल्याइएका उपकरणलाई जडान गरी सुरुङ खन्ने काम सुरु गर्न करिब २ महिना लाग्ने प्राविधिकहरुले बताएका छन्।
कात्तिक २४ देखि टिबीएमबाट सुरुङ खन्ने तयारी गरिएको आयोजनाले जनाएको छ।
करिब २ सय ७४ मिटर लामो मेसिनको आधा भाग भने सुरुङभित्रै हुनेछ। त्यसका लागि मजदुरहरुबाटै १ सय ५० मिटर लामो सुरुङ खनिसकिएको छ।
भेरी नदीको पानीलाई सुर्खेत र बर्दियाको सिमानामा रहेको बबईमा खसालेर विद्युत् उत्पादन र सिँचाइमा प्रयोग गर्ने उद्देश्यले आयोजना सुरु भएको हो।
चुरे क्षेत्रको पहाडमा १२ किलोमिटर लामो सुरुङ खनेर त्यहाँबाट भेरीको पानी बबई नदीमा खसाल्ने योजना छ। यहाँबाट ४८ मेगाबाट विद्युत उत्पादन गर्नुका साथै बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने आयोनाको लक्ष्य रहेको छ।
आयोजना अन्तर्गत पहिलो चरणमा सुरुङ निर्माण, दोस्रो चरणमा विद्युत् उत्पादन गरेर राष्ट्रिय प्रसारणमा जोड्ने र तेस्रो चरणमा बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सेवा पुर्या इने आयोजनाले जनाएको छ।
टिबीएम मेसिनले प्रतिदिन करिब १६ देखि १७ मिटर अर्थात् मासिक करिब ५ सय मिटर सुरुङ खन्नेछ। सुरुङ खनेर सक्न करिब २ वर्ष लाग्ने अनुमान गरिएको सिँचाइ मन्त्री सञ्जय गौतमले बताए।
भेरी–बबई डाइभर्सन बहुद्देश्यीय आयोजना राष्ट्रिय गौरवको आयोजना भएकाले यसको निर्माणलाई नेपाल सरकारले उच्च महत्व दिएको र बजेटको अभाव नहुने मन्त्री गौतमले बताए।
सुरुङ निर्माणस्थलमा टिबीएम मेसिन स्थापनाका लागि पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको छ।
मुलुकमै पहिलोपटक यो आयोजनामा टनेल बोरिङ मेसिनमार्फत सुरुङ निर्माण गर्न लागिएको हो।
सुर्खेतको भेरीगंगा नगरपालिकास्थित चिप्लेमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानी बबईमा खसाल्ने लक्ष्य छ। बबईमा खसालेको पानीबाट ४८ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ भने बाँके र बर्दियाको ५१ हजार हेक्टर खेतीयोग्य जग्गामा सिँचाइ उपलब्ध गराइनेछ।
सिँचाइ विभाग र चीनको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक) बीच आयोजना निर्माणका लागि ठेक्का सम्झौता भएको छ। स्वदेशी लगानीमा निर्माण हुन लागेको यो आयोजनाको टनेल निर्माणका लागि १० अर्ब ५६ करोड लाग्ने अनुमान गरिएको छ।
२०७१ माघ देखि सुरु भएको आयोजनामा हालसम्म करिब १ अर्ब ७५ करोड खर्च भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।