टोकियो - जापानले फिफा विश्वकप फुटबल प्रतियोगितामा लगातार छैटौं पटक स्थान बनाएको छ।
विश्वकप छनोट २०१८ अन्तर्गत एसिया छनोटको समूह ‘बी’को खेलमा अस्ट्रेलियामाथि २–० को जित निकाल्दै जापानले आगामी वर्ष रसियामा विश्वकपको टिकट पक्का गरेको हो। जापानले सन् १९९८ मा पहिलोपटक विश्वकप खेलेको थियो। त्यसपछि लगातार विश्वकप खेल्ने क्रममा उसले सन् २००२, २००६, २०१० र २०१४ पनि एसियाको प्रतिनिधित्व गरेको थियो।
घरेलु मैदानमा जापानलाई जित दिलाउन ताकुमा असानोले ४१औं मिनेट तथा योसुके ओडेगुचीले ८२औं मिनेटमा गोल गरेका थिए। जापान ९ खेलबाट २० अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थानमा छ। जापानले ६ खेलमा जित, २ खेलमा बराबरी र १ हार बेहोर्यो। जापानसँग पराजित भएको अस्ट्रेलियाको पनि विश्वकपमा छनोट हुने सम्भावना बाँकी छ। अस्ट्रेलिया १६ अंक जोडेर तेस्रो स्थानमा छ।
अस्ट्रेलियासँग समान १६ अंक जोडेर दोस्रो स्थानमा रहेको साउदी अरेबिया महत्वपूर्ण खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग पराजित भएको छ। साउदी अरेबियालाई हराएको युएईले पनि १३ अंक जोडेर विश्वकपमा छनोट हुने सम्भावना जीवितै राखेको छ। समूह 'बी'का अन्य खेलमा इराकले थाइल्यान्डलाई २–१ ले हरायो। दुवै टोली विश्वकप यात्राबाट बाहिरिइसकेका छन्।
एसिया छनोटको समूह ‘ए’को खेलमा कोरिया र इरानले गोलरहित बराबरी खेलेका छन्। इरान यसअघि नै विश्वकपमा छनोट भइसकेको टोली हो। इरानले ९ खेलबाट २१ अंक जोडेको छ भने समान खेलबाट १४ अंक जोडेको कोरिया दोस्रो स्थानमा छ। अन्तिम खेलमा जित निकाल्न सके कोरिया विश्वकपमा छनोट हुनेछ।
कतारलाई ३–१ ले हराएको सिरियाले पनि विश्वकप छनोट सम्भावना जीवितै राखेको छ। समूह ‘ए’ को तेस्रो स्थानमा रहेको सिरियाले १२ अंक जोडेको छ। चीनलाई १–० ले हराएर उज्वेकिस्तानले पनि विश्वकप छनोट हुने अभियानलाई जीवित बनायो। चौथो स्थानमा रहेको उज्वेकिस्तानको पनि १२ अंक नै छ। समूहमा शीर्ष दुई टोली सिधै विश्वकपमा छनोट हुनेछन् भने तेस्रो स्थान हात पार्ने टोलीले अन्तरमहादेशीय छनोट खेल्ने मौका पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।