काठमाडौं- नेकपा एमालेको मधेस अभियानपछि तराई नझरेका अध्यक्ष केपी ओली निर्वाचन प्रचारको अन्तिम दिन चुनावी सभालाई सम्बोधन गर्न तीन जिल्ला पुग्ने भएका छन्।
अध्यक्ष ओलीले बाराको कलैया जितपुर उपमहानगरपालिका, रौतहटको चन्द्रनिगापुर नगरपालिका र महोत्तरीको बर्दिबास नगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन्।
उनले मध्याह्न १२ बजे जितपुरमा, २ बजे चन्द्रनिगापुरमा र ३ बजे बर्दिबासमा सभालाई सम्बोधन गर्ने ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले बताए।
गत फागुन २१ मा १५ दिने मधेस अभियान लिएर एमाले मधेस झरेको थियो। मधेस अभियानमा सक्रिय भएका ओली स्थानीय चुनावको प्रचारप्रसार सभामा सम्बोधन गर्न भने गएनन्। नेता माधवकुमार नेपाल भने चुनावी अभियानमा सक्रिए थिए।
अध्यक्ष ओलीले अन्य नेतालाई चुनावी प्रचारप्रसारमा परिचालन गरेर केन्द्रबाट आवश्यक समन्वय गरिरहेको सचिव बज्राचार्यले बताए।
प्रदेश नम्बर २ का संयोजक सत्यनारायण मण्डलले रौतहटमा विवाद भएकाले अध्यक्षको सम्बोधन अत्यावश्यक रहेको र त्यहाँ आउने क्रममा नजिकका जिल्लाको सभामा सम्बोधन कार्यक्रम तय भएको बताए। ' रौतहटमा विवाद छ, त्यहाँको मनमुटाव समाधान गर्न अध्यक्षको सम्बोधन आवश्यक छ,' उनले भने, 'चपुर आउने पक्का भएपछि आसपासका जिल्लामा पनि उहाँले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।'
अध्यक्ष ओलीले विजयोत्सव मनाउन सबै जिल्लामा आउने जानकारी गराएको नेता मण्डलले बताए।
अन्य नेता को कहाँ?
शुक्रबार मध्यरातिबाट प्रचारप्रसार गर्न नपाइने भएपछि अन्य दलका शीर्ष नेता पनि चुनावी सभालाई सम्बोधन गर्न विभिन्न स्थानमा जाँदैछन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले वीरगञ्ज महानगरपालिका र जितपुर कलैया उपमहानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल सिरहामा सक्रिय हुनेछन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महोत्तरी, सर्लाही र रौतहटमा आयोजित सभालाई सम्बोधन गर्नेछन्।
राजपाका नेता महन्थ ठाकुर सर्लाहीमा सक्रिय हुने भएका छन् भने संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सिरहाको सभामा व्यस्त हुने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।