काठमाडौं- निर्वाचन आयोगले प्रदेश नम्बर २ का मतदातालाई आजबाट मतदाता परिचपत्र वितरण गर्ने भएको छ।
प्रदेश २ का ३ हजार ३ सय ३७ मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गरिने आयोगका प्रवक्ता नवराज ढकालले बताए।
मतदाता परिचयपत्र लिन आउँदा परिचयपत्र पत्रसहित मतदान केन्द्रमा स्वयं उपस्थित हुनुपर्ने आयोगले जनाएको छ। 'अशक्त मतदाताबाहेक अन्यले आफ्नो परिचय खुल्ने कागजात लिएर मतदान केन्द्रमा पुग्नुपर्छ। अशक्त मतदाताको परिचयपत्र परिवारका सदस्यले लिन सक्छन्,' प्रवक्ता ढकालले भने।
मतदानका लागि मतदाता परिचयपत्र आवश्यक पर्छ। आयोगले अनिवार्य रुपमा परिचयपत्र लिन मतदातालाई आग्रह गरेको छ। प्रदेश २ का १ सय ३७ स्थानीय तहमा मतदान गर्ने मतदाताको संख्या २६ लाख ६४ हजार ७ सय ९२ रहेको छ।
असोज २ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म प्रदेश नम्बर २ का ८ जिल्लामा मतदान हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।