बैतडी- बैतडीको पुर्चौंडी नगरपालिका हाटमा बैंकिङ सेवा दिने उद्देश्यका साथ गत महिनादेखि सञ्चालनमा आएको ग्लोबल आइएमई बैंकको शाखामा इन्टरनेट सुविधा नहुँदा सेवाग्राहीले प्रभावकारी सेवा पाउन सकेका छैनन्।
इन्टरनेटको असुविधाका कारण बैंकिङ सेवा प्रदान गर्न अप्ठ्यारो भइरहेको शाखा प्रबन्धक शिवराज बिष्टले बताए। नेपाल टेलिकमको भिसेटमार्फत इन्टरनेट जडान गरेको भए पनि इन्टरनेटले काम नगर्दा समस्या भएको उनको भनाइ छ।
पुस १८ गते स्थापना भएको शाखाले कारोबार सञ्चालन गरे पनि सेवा निकै ढिलो भएको सेवाग्राहीको गुनासो छ। खाता सञ्चालन गर्न एक हप्ताभन्दा बढी लागेको पुर्चाैंडी–४ का सुरेन्द्र धानुकले बताए। 'इन्टरनेटको असुविधाका कारण समयमै सेवा पाउन सकेका छैनौँ,' उनले भने।
घर नजिकै बैंक आएकाले खुसी भएका नागरिक बैंकिङ सेवा प्रभावकारी नहुँदा निराश हुन थालेका छन्।
नेपाल टेलिकमको दहतालमा रहेको टावरले घाम लागेको बेला मात्रै काम गर्ने गरेको छ। नेपाल टेलिकम बैतडीका प्रशासन सहायक तीर्थ चौधरीले उक्त समस्या समाधानका लागि पहल गर्ने बताए।
पुर्चौंडी क्षेत्रका साबिकका करिब एक दर्जन गाविसका नागरिकले उक्त बैंकबाट सेवा लिँदै आएका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।