वासिङ्गटन (डिसी)- अमेरिकी सरकारले नेपालको आर्थिक विकास र गरिबी निवारणका लागि सहयोग गरेको मिलेनियम कर्पोरेट च्यालेन्ज कम्प्याक्ट कार्यक्रमअन्तर्गत सहयोगसम्बन्धी सम्झौतामा बिहीबार वासिङ्गटन डिसीमा हस्ताक्षर भएको छ।
सम्झौतामा अमेरिकी सरकारको तर्फबाट एमसिसी च्यालेन्जका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन नासा र नेपाल सरकारको तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरे।
हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दे अमेरिकाका उपविदेशमन्त्री जोन जे सुलिभानले नेपालको आर्थिक विकासको माध्यमबाट न्युन आय भएका जनताको जीवनस्तर उकास्न अमेरिकी सरकारले सहयोग पुर्याउन पाएकोमा खुसी व्यक्त गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री कार्कीले नेपाल अमेरिकाको सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको घडीमा यो सम्झौता एउटा कोसेढुंगा साबित भएको बताए।
उनले नेपालको प्रजातान्त्रिक प्रक्रियामा विस्तारै संस्थागत विकास हुँदै गएको अवस्थामा यो सहयोगलाई पूर्ण प्रतिबद्धताका साथ कार्यान्वयनमा लैजान सरकार कटिबद्ध रहेको बताए।
कार्यक्रमअन्तर्गत अमेरिकी सरकारले नेपाललाई ५० करोड डलर बराबरको रकम सहयोगस्वरुप उपलब्ध गराउनेछ जसमा नेपाल सरकारले १३ करोड डलर रकमको योगदान गर्नेछ।
सरी ६३ करोड डलर अर्थात् करिब ६३ अर्ब रुपैयाँ बराबरको यो आयोजना पाँच वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ। यसबाट २१३ किलोमिटर विद्युत् ट्रान्समिसन लाइनको निर्माण र सडक विस्तारमा खर्च गरिनेछ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।