

न्युयोर्क– हलिउड नायिका तथा चर्चित गायिका सेलेना गोमेजले यसै वर्षको गर्मीयाममा आफूले किड्नी (मिगौला) प्रत्यारोपण गरेको खुलासा गरेकी छिन्। उनको किड्नी खराब भएको खबर गत वर्ष बाहिरिएको थियो। गोमेज २०१५ देखि ‘लुपस’ रोगको कारण थलिएकी थिइन्। यस अवधिमा उनी डायलासिसमा थिइन्।
उनी यसै वर्षको मेमा आफ्नो एकल म्युजिक ‘ब्याड लायर’ लिएर साङ्गेतिक क्षेत्रमा पुनः फर्किएकी थिइन्। उनले किड्नीको उपचार गरिरहदा हलिउडमा भोगेको तितो अनुभव पनि सुनाइन्।
‘यही गर्मीयाममा मेरो सुस्तताप्रति केही फ्यानहरुले गरेको नोटिसलाई लिएर म निकै चनाखो थिए। उनीहरुलाई लागेको थियो, किन मैले आफ्नो नयाँ गीतलाई प्रमोट गरिन्। म फ्यानहरुको कौतुहलताप्रति आभारी छु,’ सेलेनाले विहिबार आफ्नो इन्स्टाग्राममा लेखेकी छिन्।
सेलेनाले आफ्नो सन्देशसँगै इन्स्टाग्रामबाट किड्नी प्रत्यारोपणपछिको तस्बीर पनि सार्वजनिक गरेकी छिन्। तस्बीरमा उनी आफूलाई किड्नी दान गर्नेसँग देखिएकी छिन्। २५ वर्षीय गोमेजलाई उनको मिल्ने साथी तथा नायिका फ्रान्सिया राइसाले किड्नी उपलब्ध गराएकी हुन्।
‘प्रत्यारोपण सफल नहुँदासम्म सबै कुरा गोप्य राखेकोमा म मेरो परिवार र चिकित्सकहरुको टिमलाई धन्यवाद दिन चाहन्छु,’ उनले भनिन्। उनले आफूलाई बहुमूल्य उपहार दिएकोमा राइसालाई विशेष धन्यवाद दिइन्।
अमेरिकामा हाल १ लाख २३ हजार व्यक्तिहरु किड्नी प्रत्यारोपणका लागि प्रयासरत छन्। डाइबेटिज र उच्च रक्तचापका कारण किड्नीमा समस्या आउने गर्दछ। किड्नीमा अधिक स्टोन थुप्रिएको र यसको बेलैमा उपचार नभएको खण्डमा लुपसको कारण किड्नीले काम गर्न छोड्ने राष्ट्रिय किड्नी फाउन्डेसनले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।