काठमाडौं- यो वर्षको नाडा अटो शोमा पहिलो पटक हाइब्रिड कारसमेत आउने भएको छ। सरकार आर्थिक वर्ष २०७६/०७७ को बजेटमार्फत् हाइब्रिड कारमा साविकमा लाग्ने भन्सार तथा अन्तःशुल्कमा ५० प्रतिशत छुट दिएसँगै अटो शोमा हाइब्रिड कार ल्याउन लागिएको हो।
हाइब्रिड कारमा भन्सार तथा अन्तःशुल्क छुट दिएसँगै यस्ता सवारी निक्कै सस्तो हुने देखिएको छ। त्यसैले नेपाली बजारमा हाइब्रिड कार भित्रिने क्रम सुरु भएको छ।
यस्तैमा टोयोटा मोटर्स्को क्याम्री हाइब्रिड र र्याभफोर हाइब्रिड अटो शोमा आउने भएको छ।
'नाडा अटो शो २०१९' मा टोयोटाले दुई हाइब्रिड कार ल्याउने तयारी गरेको टोयोटाको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले जनाएको छ। भदौ १० देखि सुरु हुने अटो शोमा टोयोटाको क्याम्री हाइब्रिड र र्याभफोर हाइब्रिड ल्याउने तयारी गरिएको कम्पनीका सेल्स एन्ड मार्केटिङ म्यानेजर विवेक बलामीले बताए।
‘अटो शोमा टोयोटाले पहिलो पटक हाइब्रिड कार प्रदर्शनी गर्न लागेको हो,’ बलामीले भने, ‘यो वर्षको अटो शोमा टोयोटाका क्याम्री र र्याभफोर हाइब्रिड ल्याउने तयारी भइरहेको छ।’ यसअघि पनि टोयोटाको हाइब्रिड कार नेपाल भित्रिएको भएपनि तुलनात्मक रुपमा महँगो हुन्थ्यो।
तर, सरकारले पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्न आवश्यक नीति अख्तियार गरेको छ। त्यही नीतिअनुसार हाइब्रिड कारमा भन्सार तथा अन्तःशुल्कमा ५०/५० प्रतिशत छुट दिने गरी आर्थिक ऐनमा व्यवस्था गरेको छ।
त्यस्तै, अटो शोमा टोयोटाका अन्य कारहरु समेत प्रदर्शनीका लागि राखिने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।