काठमाडौं– दशैँ र तिहार मनाउन विदेशबाट हवाइमार्ग हुँदै देश फर्किएका नेपालीहरु विदेशी एयरलाइन्सको लापरवाहीको सिकार बनेका छन्। खाडीका विभिन्न मुलुकबाट घरमा टीका थाप्न भारतीय एयरलाइन्स कम्पनी जेट एयरवेजबाट काठमाडौं आइपुगेका नेपालीहरु आफ्नो सामान नपाएपछि बिचल्लीमा परेका छन्।
उनीहरुले सामान चाँडो पाउनुपर्ने माग राख्दै एयरपोर्टमा जम्मा भएर नारा लगाएका थिए। तर, विमानस्थलको सुरक्षाको जिम्मेवारी सम्हालेका डिआइजी पंकज श्रेष्ठले भने एयरपोर्टमा समस्या नरहेको भन्दै घटनाबारे जानकारी नभएको बताए। उनले जेट एयरलाइन्स व्यवस्थापनलाई सोध्दा आफूलाई केही समस्या नभएको जवाफ दिएको जानकारी दिए।
खाडीबाट मुम्बईको बाटो हुँदै नेपालीहरु बिहीबार दिउँसो १२ बजे काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए। छिटो घर फर्किन आतुर देखिएका यात्रु आफ्नो सामानको ब्याग (लगेज) नभेटिएपछि साँझसम्मै रनभुल्लमा परेका छन्।
‘मेरो लुगाफाटो सबै त्यही ब्यागमा थियो। अब के लगाउने। एयरलाइन्स कम्पनीवालाहरु आश्वासन मात्र दिन्छन्,’ एक यात्रुले नेपाल लाइभसँग गुनासो गरे, ‘मेरो औषधि पनि त्यही ब्यागमा छ। म मुटुको बिरामी हो। केही भयो भने उनीहरुले जिम्मेवारी लिन्छन्?’ सामान किन ढिलो आयो र कहाँ छ भन्नेबारे एयरलाइन्सले केही जानकारी नदिएको उनले बताए।
यस्तै, बुधबारदेखि आफ्नो लगेज नपाएर छटपटिएका अर्का यात्रु एयरलाइन्सको लापरवाहीले यस्तो हुने गरेको बताउँछन्। ‘लगेज आयो भने फोन गर्छौं भन्छन् तर हामीले फोन गर्दा उनीहरुको मोबाइल अफ हुन्छ,’ उनले भने, ‘विदेशबाट आउँदा लगेजको पैसा तिरेको छ, यहाँ आफूसँगै सामान आइपुग्दैन। होटलमा बसेर थप पैसा तिर्नुपर्ने वाध्यता छ। दशैँका लागि ल्याएको पैसा यहीँ खर्च भएपछि कसरी घर जानु?’
विगतमा पनि एयरलाइन्सहरुको चरम लापरवाहीका कारण नेपाली यात्रुले दुःख पाउँदै आइरहेका छन्। तर, एयरलाइन्स कम्पनीले क्षतिपूर्तिवापत मार्कामा परेका यात्रुलाई आश्वासन मात्र दिन्छ।
नेपाल सरकार पनि यात्रुको अधिकारप्रति संवेदनशील नदेखिएको उनीहरुको गुनासो छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।