काठमाडौं– २०७४ जेठ २४ मा गठन भएको शेरबहादुर देउवाको सरकारले बुधबार सय दिन पूरा गरेको छ। संविधान कार्यान्वयन, पुनर्निमाण र वैदेशिक सम्बन्ध सुधारका काममा सरकार सक्रिय रहेकाले हनिमुन अवधि उपलब्धिमूलक रहेको सरकारले दाबी गरेको छ।
प्रधानमन्त्री देउवाको अनुपस्थितिमा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सरकारका उपलब्धि सार्वजनिक गरेका हुन्। उनले जनतालाई राहत दिने कार्यको सुरुवात गरेकाले निरास हुनुपर्ने अवस्था नरहेको भन्दै सरकारको बचाउ गरे।
दोस्रो चरणको स्थानीय तह निर्वाचन सफल पार्नु, संविधानको विरोधमा रहेको राजपालाई निःशर्त निर्वाचन सहभागी गराउनु, प्रदेश र केन्द्र निर्वाचनको मिति तोक्नु जस्ता कामलाई सरकारले महत्वपूर्ण उपलब्धिका रुपमा अघि सारेको छ।
प्रधानमन्त्री देउवाको भारत भ्रमण, राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण र उपराष्ट्रपति नन्दबहादुर पुन र परराष्ट्रमन्त्री कृष्णबहादुर महराको चीन भ्रमण, नेपालमा सम्पन्न बिमस्टेक बैठक जस्ता बुँदालाई पनि सरकारले उपलब्धिको सूचीमा राखेको छ।
मन्त्री बस्नेतले चीन र भारतसँग भूकम्पपछिको पुनर्निमाणका लागि भएका सम्झौता पनि उपलब्धिपूर्ण भएको बताए। भूकम्प पीडितसँग सरकार गठन भएपछि निर्माण सम्झौता बढेको एवं सार्वजनिक विद्यालय र स्वास्थ्य चौकीहरुको पुनर्निमाण तीव्र पारिएको मन्त्री बस्नेतले दाबी गरे।
‘भ्रष्टाचारीलाई सरकारले छाड्दैन’
मन्त्री बस्नेतले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का र साझा प्रकाशनका अध्यक्ष डोलेन्द्र शर्मा पौड्यालले अनियमितता गरेको पाइएमा कुनै पनि हालतमा उन्मुक्ति नदिने बताए।
सरकारले संविधान कार्यान्वयनसँगै सदाचारलाई आफ्नो नीति बनाएकाले बताउँदै उनले गलत काममा संलग्नहरुलाई कारबाही गर्ने प्रतिबद्धता जनाए। खड्काको सम्बन्धमा प्रक्रिया पु¥याएर कारबाही गर्ने कार्य मन्त्रालयबाट थालनी भइसकेको उनको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।