काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्रीस्टार क्लबलाई १ करोड ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ।
एन्फाको बिहीबार बसेको कार्यसमिति बैठकले थ्रीस्टारलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो । यसअघि एन्फाको गल्तीका कारण गत वर्षको मंसिरमा थ्रीस्टार एएफसी कपको दोस्रो चरण खेल्नबाट वञ्चित भएको थियो । प्रतियोतिगामा भाग लिन नपाएपछि थ्रीस्टारले ६ करोड रुपैयाँ क्षतिपूर्ति मागेको थियो।
एन्फाले गरेको क्षतिपूर्तिको निर्णयलाई असोज २३ गते हुने विशेष साधारणसभाले पारित गर्नुपर्नेछ।
एन्फाले मंसिरदेखि सुरु गर्न लागेको ‘ए’ डिभिजन लिगमा १६ टोलीबीच होम एन्ड अवेका आधारमा प्रतिस्पर्धा गराउने निर्णय गरेको छ । यसअघि १२ टोलीबीच लिग गर्ने भनिएपछि ४ टोली थप गरिएको हो।
उपत्यका बाहिरका चार टोलीलाई लिगमा खेलाउने निर्णय गरेको एन्फाका प्रवक्ता इन्द्रमान तुलाधरले जानकारी दिए।
लिगमा भाग लिने क्लबहरु
थ्रीस्टार, फ्रेन्ड्स, नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी, मनाङ मर्स्याङ्दी, मच्छिन्द्र, संकटा, हिमालयन शेर्पा, सरस्वती, ब्रिग्रेड ब्वाइज, जावलाखेल युथ क्बल।
उपत्यका बाहिरका टोली – झापा ११, मोरङ एफसी, रुपन्देही, सुदूरपश्चिम।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।