काठमाडौं– अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ६ स्थान तल झरेको छ।
फिफाले बिहीबार जारी गरेको वरीयता सूचीमा नेपाल १ सय ७५ स्थानमा पुगेको हो । यो महिना नेपालले ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दा पराजित भएपछि नेपालको स्थान खस्किएको हो । सो खेलमा नेपाल २–१ ले पराजित भएको थियो।
वरीयतामा नेपाललाई सार्क क्षेत्रका भुटान, माल्दिभ्स र भारतले पछि पारेका छन्।
सार्क क्षेत्रको शीर्ष स्थानमा रहेको भारत वरीयतामा १ सय ७ स्थानमा छ । यो महिना भारत १० स्थान तल झरेको हो । सार्कको दोस्रो स्थानमा रहेको माल्दिभ्स १ सय ५४ स्थानमा छ । माल्दिभ्स पनि १२ स्थान तल झरेको छ । भुटान नेपालभन्दा एक स्थान माथि १ सय ७४ स्थानमा छ । भुटान पनि ९ स्थात तल झरेको हो।
नेपालभन्दा तल रहेको बंगलादेश १ सय ९६, श्रीलंका १ सय ९८ र पाकिस्तान २ सय स्थानमा छ । पाकिस्तान सार्कको मात्र नभएर एसियाकै पुछारमा छ।
विश्व वरीयताको शीर्ष स्थानमा जर्मनी छ भने ब्राजिल दोस्रो स्थानमा छ । पोर्चुगल तीन स्थान माथि उक्लिएर तेस्रो स्थानमा आइपुगेको छ।
चौथो स्थानमा अर्जेन्टिना, पाँचौंमा बेल्जियम र छैटौं स्थानमा पोल्यान्ड छन् । यस्तै, स्विट्जरल्यान्ड सातौं स्थानमा, फ्रान्स आठौं, चिली नवौं र कोलम्बिया दसौं स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।