काठमाडौं– प्रधानमन्त्रीले शेरबहादुर देउवाले सरकारले १ सय दिनमा हाँसिल गरेका उपलब्धि नसुनाउने भएका छन्। प्रधानमन्त्री देउवा उपलब्धि सार्वजनिक गर्ने कार्यक्रममा अनुपस्थित हुने सचिवालयले जनाएको छ।
गणतन्त्रपछिका सबै प्रधानमन्त्रीले आफैँ उपस्थित भएर सरकारको सय दिनको कार्यप्रगति सार्वजनिक गर्दै आएका थिए।
प्रदेश २ को स्थानीय निर्वाचन लक्षित नेपाली कांग्रेसको ‘मधेस अभियान’मा व्यस्त भएकाले प्रधानमन्त्री देउवा आफ्नो कार्यकालको सय दिनको उपलब्धि सार्वजनिक कार्यक्रममा आउन नसक्ने भएका हुन्।
प्रधानमन्त्रीका वरिष्ठ सञ्चार विज्ञ गोविन्द परियार भन्छन्, ‘सरकारको १ सय दिनको प्रगति सुनाउने कार्यक्रममा प्रधानमन्त्री उपस्थित हुन सक्नु हुन्न। मधेसको चुनावी अभियानमा व्यस्त रहेकाले समय नमिलेको हो। सरकारका प्रवक्ताबाट प्रगति विवरण सार्वजनिक हुन्छ।’
प्रदेश २ को चुनावी कार्यक्रमा व्यस्त प्रधानमन्त्री अहिले सर्लाहीमा छन्। सय दिनको अवधिमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन समापन, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेको सरकार स्थानीय तहको तेस्रो चरणको निर्वाचन सम्पन्न गराउन क्रियाशील छ। यो अवधिमा निर्वाचनका लागि आवश्यक कानुन तयार गर्नेबाहेक सरकारले उल्लेखनीय काम केही गर्न सकेको छैन। इतिहासको जम्बो मन्त्रिपरिषद विस्तार गरेकाले देउवाले आलोचना खेपिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।