काठमाडौं- आफूहरुलाई करारमा पदस्थापन गर्नुपर्ने मुख्य मागसहित आन्दोलनरत त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले आन्दोलनलाई अझ कडा बनाउने भएका छन्।
५२ दिनदेखि रिले अनसनमा रहेका आंशिक प्राध्यापकहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिँदासमेत बेवास्ता गरिएको जनाउँदै आन्दोलन कडा बनाउने भएका हुन्। 'यत्तिका दिन बितिसक्दा पनि त्रिवि र सरकारले सुनुवाइ नगरेकाले अब आन्दोलनलाई सशक्त बनाउनुको विकल्प छैन,' नेपाल आंशिक प्राध्यापक संघका महासचिव केशव चन्दले भने, 'प्रधानमन्त्री निवासअघि घेराउ गर्दा पनि हामीलाई बेवास्ता गरियो।'
आजै साँझ बैठक बसी आन्दोलनलाई अझ कडा रुपमा लैजानेबारे निर्णय गर्न लागिएको उनले जानकारी दिए।
आफूहरु श्रम शोषणमा परिरहँदा सरकार आँखा चिम्लिएर बसेको आरोप लगाउँदै उनले वार्ताको कुनै गुञ्जायस नभएको र आन्दोलनलाई कि वार कि पारको अवस्थामा लैजानुपर्ने भएको बताए।
हप्ताको १५ पिरियड कक्षाभार पुगेका आंशिक शिक्षकले एक शैक्षिक सत्र प्राध्यापन गराए करारमा लैजाने भनिए पनि आफूहरुलाई वर्षौं अल्झाइरहेको महेन्द्र मोरङ क्याम्पसकी अर्की आंशिक प्राध्यापक सीमा दाहालले बताइन्।
वर्षौंदेखि आंशिक प्राध्यापकका रुपमा सेवा गर्दै आए पनि करार नगरेको भन्दै उनीहरु गत बैसाखदेखि आन्दोलनमा होमिएका हुन्। आंशिक रुपमा क्याम्पसमा प्रवेश गर्दा करारका लागि सबै प्रक्रिया पूरा गराइने गरेको भए पनि हालसम्म आलटाल मात्रै गरिएको र पदस्थापन नगरिएको उनीहरुको आरोप छ। १९ वर्षदेखि आंशिक प्राध्यापककै रुपमा काम गर्दै आएकाहरुको समेत अझसम्म करार हुन सकेको छैन।
संघका महासचिव चन्दले मागसहित उपकुलपतिकहाँ बुझाएको फाइल विश्वविद्यालय अनुदान आयोग हुँदै शिक्षा मन्त्रालय पुगिसकेको भए पनि त्यत्तिकै थन्काइएको बताए। 'आंशिक प्राध्यापक आवश्यक होइन भने सबैलाई हटाउनुपर्यो कि त उचित व्यवस्थापन गर्नुपर्यो,' उनले भने।
त्रिवि अन्तर्गत देशभरका ६० आंगिक क्याम्पसमा हाल १४ सय २० जना आंशिक प्राध्यापक कार्यरत छन्। प्रतिकक्षा २४० रुपैयाँ पाउँदै आएका उनीहरुले गत माघदेखि भने ३६० रुपैयाँ पाउने गरेका छन्। 'पारिश्रमिकमा पनि १५ प्रतिशत कर काटिँदा कति हुन्छ होला?' दाहालले भनिन्, 'क्याम्पसमा बढी खट्ने आंशिकहरु नै हुन्। उनीहरु नै श्रम शोषणमा परिरहेका छन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।