नेपालगन्ज– पश्चिम नेपालका आदीबासी थारु समुदायमध्ये १० प्रतिशतमा रगत सम्बन्धी रोग सिकलसेल एनिमिया देखिएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय बा“केले गत असारमा थारु समुदायको वाहुल्य बैजापुर र टिटिहिरियामा सञ्चालन गरेको स्वास्थ्य शिबिर तथा थारु समुदायका मानिसको रगत संकलन गरी परीक्षण गर्दा १० प्रतिशतमा सिकलसेल एनिमिया पोजेटिभ देखिएको हो।
बाँकेको बैजापुरका २ सय तथा टिटहरियाबाट २ सय १० गरी ४ सय १० थारु समुदायका मानिसको रगतको हेमोग्लोबिन इलेक्ट्रोफोसिस परीक्षण गर्दा ४२ जनामा सिकलसेल एनिमिया पोजेटिभ देखिएको भेरी अञ्चल अस्पतालका ल्याब टेक्निसियन प्रदिप वलीले बताए।
स्वास्थ्य मन्त्रालयले गत वर्ष भेरी अञ्चल अस्पताललाई रगतको हेमोग्लोबिन इलेक्ट्रोफोसिस परीक्षण गर्ने अत्याधुनिक मेसिन उपलब्ध गराएपछि बिरामीहरुको रगत परीक्षण गरेर सिकलसेल एनिमिया भए नभएको यकिन गरिँदै आएको छ।
सिकलसेल एनिमिया पश्चिम नेपालका आदीबासी थारुहरुमा मात्र देखिएको वंशाणुगत रोग हो। यो रोग लागेका बिरामीलाई हात–खुट्टा र शरीरका जोर्नीदुख्ने, रगतको कमी हुने जस्ता लक्षण देखिन्छ। सिकलसेल एनिमिया रोग भए नभएको यकिन गर्नका लागि रगत परीक्षण गर्नुपर्छ।
सिकलसेल एनिमिया रोग लागेको पुष्टि भएका बिरामीलाई सरकारले तोकेका अस्पतालमा स्वास्थ्य परीक्षण तथा औषधि खरिद गर्दा प्रति बिरामी १ लाख रुपैयाँ बराबरको सेवा उपलब्ध गराउँदै आएको छ।
भेरी अञ्चल अस्पतालबाट सिकलसेलका ३ सय ५० जना बिरामीले निःशुल्क उपचार सेवा पाइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।