काठमाडौं – एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको सेमिफाइनलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्ने भएको छ।
लगातार तीन खेलमा जित हात पारेका नेपाल समूह ‘ए’ विजेताका रुपमा अन्तिम चारमा पुगेको हो। मलेसिया भने समूह चरणको अन्तिम खेलमा हङकङसँग ६ विकेटले पराजित भएपछि उपविजेतामै सीमित बन्यो। मलेसियाले समूह चरणमा म्यानमार र चीनलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।
मलेसिया र नेपालबीच पछिल्लो दुई महिनामा तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सिंगापुरमा भएको आइसिसी यू–१९ विश्वकप छनोटमा नेपाल र मलेसियाबीच दुई पटक प्रतिस्पर्धा भएको थियो। दुवै खेलमा नेपालले मलेसियालाई पराजित गरेको थियो।
नेपालले समूह चरणको पहिलो खेलम थाइल्यान्डलाई २ सय ५५ रन, दोस्रो खेलमा भुटानलाई ९ विकेट र तेस्रो खेलमा सिंगापुरलाई ७ विकेटले हरायो।
अर्काे सेमिफाइनलमा समूह ‘ए’को उपविजेता सिंगापुर र समूह ‘बी’को विजेता हङकङबीच प्रतिस्पर्धा हुनेछ। दुवै सेमिफाइनलका खेल शनिबार हुनेछन्।
फाइनल खेल आइतबार हुनेछ। फाइनलमा पुग्ने दुई टिम यू–१९ एसिया कपका लागि छनोट हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।