काठमाडौं- लोकरक ब्यान्ड नेपथ्यले नवौं एल्बम 'ऐना झ्याल' को चर्चित गीत 'सिरानमा फोटो छ' को भिडियो सार्वजनिक गरेको छ । ब्यान्डले २५ वर्ष पुगेको अवसरमा नयाँ म्युजिक भिडियो रिलिज गर्ने क्रममा सो गीत चयन गरेको हो।
‘सिरानमा फोटो’ गीतको शब्द र संगीत लाङटाङ भेगतिर भेटिने लोकभाकामा आधारित छ । नेपथ्यले आफ्नो आधिकारिक युट्युब च्यानल मा राखेको यो आठौं म्युजिक भिडियो बनेको छ।
तामाङ सेलोमा आधारित गायन रहेको यस गीतका शब्दहरुले पछिल्लो समय वैदेशिक रोजगारीमा विदेश गएकाहरुको वेदनालाई समेटेको छ । घरपरिवार छाडेर विरानो देशमा जाने कतिपय युवाले फर्केर परिवारलाई अनुहार समेत नदेखाउने मर्मलाई बोकेको गीतले भन्छ–
‘मै मरी जाउँला... जीवन छोटो छ
लेखेको सम्झना, च्यातेर नफाल
सिरानमा फोटो छ, सिरानमा फोटो छ’
म्युजिक भिडियो अहिले अन्तर्राष्ट्रिय रुपमा प्रचलित ‘सिम्पल लिरिकल भिडियो’ का हिसाबले तयार पारिएको छ ।
नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘हामीले हरेक एल्बममा औसत दस वटा गीत समावेश गर्दै आएका छौं र त्यसमध्ये एकाध गीत मात्र लोकप्रिय भएर बाँकी गीत ओझेल पर्छन् । त्यस्तै नियति भोगेको यो गीतको यति समयपछि म्युजिक भिडियो बनेर आउँदा धेरै खुसी लागेको छ ।’
नयाँ भिडियो रिलिजसँगै भिजुअल टिम अर्को गीतको म्युजिक भिडियो तयार पार्ने काममा जुटेको नेपालयका किरणकृष्ण श्रेष्ठले भने ।
‘अबको म्युजिक भिडियो भने अहिलेसम्म सार्वजनिक नभएको दसौं अल्बमको ताजा गीतमाथि बन्नेछ’, उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।