काठमाडौं– निर्वाचनमा सहभागी राजनीतिक दललाई शुक्रबार मध्यरातबाट निर्वाचन प्रचारप्रसारमा रोक लाग्नेछ । निर्वाचन सुरु हुनुभन्दा ४८ घन्टाअघि मौन अवधि सुरु हुने भएकाले राजनीतिक दलले शुक्रबार मध्यरातबाट चुनाव प्रचार गर्न पाउँदैनन्।
निर्वाचन आयोगको आचरसंहिताको परिच्छेद २ को नियम ५ ले मौन अवधिमा पाँच प्रकारका कार्य गर्न उम्मेदवारलाई रोक लगाएको छ । मौन अवधिको नियम उल्लंघन गरेमा उम्मेदवारलाई एक लाख रुपैयाँ जरिवाना र उम्मेदवारी रद्द दुवै सजाय हुनसक्छ।
‘उम्मेदवारले मौन अवधिको पालना नगरेको उजुरी परे आयोगले छानबिन गरी १ लाखसम्म जरिवाना र उम्मेदवारी रद्द गर्न सक्छ’, निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने।
उम्मेदवारले मौन अवधिमा के गर्न हुँदैन ?
यसका साथै राजनीतिक दल तथा उम्मेदवारहरुले मतदानका दिनसम्म यी आचारसंहिता पालना गर्नुपर्नेछ:
– मतदातालाई शान्तिपूर्वक मताधिकारको प्रयोग गर्न दिनुपर्ने,
– मतदानमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई सहयोग गर्नुपर्ने,
– मतदान केन्द्रमा रहेको राजनीतिक दल वा उमेदावरको प्रतिनिधिले निर्वाचन चिन्ह वा सङ्केत नभएको पहिरन, परिचयपत्र र व्याजमात्र प्रयोग गर्नुपर्ने,
– कुनै किसिमको सवारी साधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई पनि लाने वा ल्याउने गर्न नहुने,
– शारीरिक रुपले अशक्त वा हिँडडुल गर्न नसक्ने मतदाताको लागि मतदान अधिकृतले तोकिदिएको सवारी साधन प्रयोग गर्न सक्ने,
– उम्मेदवार मतदाता, प्रचलित कानुनले अनुमति दिएका व्यक्ति, आयोगले अनुमति दिएका व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न नहुने,
– मतदातालाई मतदान गर्न जान वा मतदान गर्नबाट वञ्चित गराउने अभिप्रायले कुनै काम गर्न वा गराउन नहुने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।