म्याड्रिड– रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीबीचको प्रतिद्वन्दिता नौलो होइन्। विगत एक दशकदेखि यी दुई स्टार एकअर्काको रेकर्ड तोड्न उद्दत छन्।
यसै क्रममा बुधबार राती सान्टियागो बेर्नाबेउमा भएको च्याम्पियन्स लिगको पहिलो खेलमा रोनाल्डोले आफ्ना चिरप्रतिद्वन्दी मेसीको २ वटा कीर्तिमानलाई पछाडि छाडेका छन्।
रोनाल्डोले च्याम्पियन्स लिगमा घरेलु मैदानमा सर्वाधिक गोल गर्ने मेसीको कीर्तिमानलाई उछिने। उनले बुधबार राती साइप्रसको एपोइल निकोसियाविरुद्ध २ गोल गरेपछि मेसीको कीर्तिमानलाई पछि पारेका हुन्। मेसीले च्याम्पियन्स लिगको घरेलु खेलमा ५४ गोल गरेका थिए। तर, बुधबार राती दुई गोल गरेपछि रोनाल्डोले घरेलु मैदानमा गोल गर्ने संख्या ५५ पुर्याएका छन्।
रोनाल्डोले च्याम्पियन्स लिगमा पेनाल्टिमार्फत गोल गर्ने मामिलामा पनि मेसीलाई उछिनेका छन्। उनले एपोइलविरुद्ध दोस्रो गोल पेनाल्टिबाट गरेका थिए। च्याम्पियन्स लिगमा रोनाल्डोको पेनाल्टिबाट गोलको संख्या १२ पुगेको छ। मेसीले ११ गोल पेनाल्टिबाट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।