काठमाडौं – नायिका सारिका घिमिरेको गीति एल्बम ‘मोहनी’ सार्वजनिक गर्दै गायिका भएकी छिन्। काठमाडौंमा एक कार्यक्रमका विच संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एंव वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, वरिष्ठ पत्रकार तथा गीतकार शान्तिप्रिय, वरिष्ठ गायिका संगीता राना, वरिष्ठ संगीतकार राजु सिंह, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, संगीतकार सन्तोष श्रेष्ठ, अर्जुन पोखरेल, गायिकाकी आमा रमा घिमिरेले मोहनी एल्बम सार्वजनिक गरेका हुन्।
एल्बम्मा चारवटा गीत संग्रहित रहेका छन् । रमेश थापा मगरको शब्द तथा जितेन लेप्चाको संगीत रहेको ‘के देखेर माया लायौ’, शान्तिप्रियको शब्द तथा दीपक शर्माको संगीत रहेको ‘मुलको पानी’, सारिका घिमिरेको शब्द तथा सारिकाकै संगीत रहेको ‘छमछम’, सारिका घिमिरेकै शब्द तथा डेनी निरौलाको संगीत रहेको ‘सान्नानी’ बोलका गीतहरु यसमा समेटिएका छन् । यस एल्बमको दुई गीतमा गायिका घिमिरेको आफ्नै शब्द छ भने एउटा गीतमा संंगीत पनि उनले भरेकी छिन्। कार्यक्रममा ‘के देखेर माया लायौ’ बोलको गीतको भिडियो समेत सार्बजनिक गरिएको थियो ।
भिडियोमा गायिका आफैं मोडलको रुपमा देखिएकी छिन् भने उनलाई पुष्पल खड्काले साथ दिएका छन् । जितेन लेप्चाको संगीत रहेको यस गीतलाई रमेश थापामगरले लेखेका हुन् । भिडियोलाई भरत रेग्मीले निकै आकर्षक ग्राफिक्स्को साथमा सम्पादन गरेका छन्।
अभिनय क्षेत्रमा सक्रिय रहेकी घिमिरेको पहिलो प्रयास हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एंव वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाले चलचित्र क्षेत्रमा जस्तै नेपाली सांगीतिक क्षेत्रमा पनि नयाँ इटा थप्दै जाने र सारिकाको भविष्य उज्ज्वल रहने बताए भने संगीतकार राजु सिंहले पनि गायिकाको खुलेरै प्रसंशा गर्दै शुभकामना दिएका थिए । बरिष्ठ निर्देशक÷कलाकार मोहन निरौला, संगीतकार अर्जुन पोखरेल, निर्देशक सुब्रत आचार्य लगायतले लोकार्पण भएको एल्बमको शुभकामना दिएका थिए भने सन्तोष श्रेष्ठले एल्बमको समिक्षा गरेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।