काठमाडौं– प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आचारसंहिता उल्लंघनका घटना नियन्त्रण गर्न सम्पूर्ण संयन्त्र परिचालन भइरहेको बताएका छन्।
स्थानीय तहको निर्वाचनको पर्यवेक्षण गर्दै आएको आम निर्वाचन पर्यवेक्षक समिति र राष्ट्रिय निर्वाचन पर्यवेक्षक समितिका पदाधिकारीसँगको छलफलमा उनले भने, ‘हामीकहाँ राजनीतिक संस्कारको अभाव छ, प्रजातान्त्रिक संस्कार नै छैन।’
उनले राजनीतिक दल र उम्मेदवारलाई दिनहूँ जसो चेतावनी दिएपनि, जति भनेपनि आचारसंहिताको पालनाका विषयमा प्रश्न उठिरहेको बताए। ‘स्वच्छ र स्वतन्त्र निर्वाचनका लागि सम्पूर्ण वातावरण बनाएर जानुपर्दछ, त्यसका लागि सक्दो प्रयास गरिरहेका छौं’– प्रमुख निर्वाचन आयुक्त डा यादवले भने।
उनका अनुसार आयोगबाट अहिलेसम्म पार्टीका उच्चस्तरका नेतालाई समेत गरी ३०÷४० वटा स्पष्टीकरण सोध्ने र निर्देशन दिने काम भइसकेको छ । ‘आचारसंहिताको पालनाको विषयलाई आवश्यक रुपमा राजनीतिक दल र उम्मेदवारले मानिराख्नु भएको छैन, यद्यपि आयोगले पटकपटक खबरदारी गर्दै आएको छ,’ उनले भने।
पाँच वर्षको बालिकालाई रंगीचङ्गी बनाएर प्रधानमन्त्री सरिक भएको कार्यक्रममा अग्रभागमा राखिनु त्यो भन्दा बढी आचारसंहिताको उल्लंघन के हुन सक्छ भन्ने प्रश्न गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले यस्ता कुराले राजनीति र प्रजातन्त्रको अपमान हुने तर्फ सबैपक्षले हेक्का पर्ने बताए।
‘निर्वाचन आचारसंहिताको उल्लंघन गर्ने राजनीतिक दल र उम्मेदवारलाई बहिष्कार गर्ने कार्यमा निर्वाचन पर्यवेक्षक संस्थाले भूमिका खेल्न सक्नुपर्छ,’ उनले भने, ‘आयोगको निर्वाचन आचारसंहिताको परिधिभित्र राजनीतिक दल र उम्मेदवार बस्नुपर्छ भन्ने अभियानलाई सहयोग पु¥याउन म सबैसँग आग्रह गर्छु।’ रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।