काठमाडौं– मंगलबार राति एप्पलले सार्वजनिक गरेको आइफोनको नयाँ संस्करणमा ह्याकरहरूले भाइरस आक्रमण गरी फिरौति मागेका छन् ।
प्रयोगकर्ताहरूले नयाँ आइफोन किनेर अन गर्नासाथ स्क्रिनमा आइओएस (सफ्टवेयर) क्र्यास भएको र डिभाइस ठिक गर्न रकम तिर्नुपर्ने माग गरेको पप–अप नोटिफिकेसन देखिने गुनासो गरेका छन् ।
यस्तो नोटिफिकेसनमा फोनको सफ्टवेयर क्र्यास भएकाले ठिक पार्न त्यहाँ दिइएको नम्बरमा फोन गर्न उल्लेख गरिएको अमेरिकी प्रयोगकर्ताले बताएका छन् ।
ह्याकरले दिएको नम्बरमा फोन गर्नुका साथै १९ देखि ८० अमेरिकी डलरसम्म तिर्न पनि नोटिफिकेसनमा उल्लेख भएको उनीहरूले बताएका छन् ।
ह्याकरहरूले आइफोनलगायत एप्पलका डिभाइसहरूको डिफल्ट वेब ब्राउजर सफारीलाई आक्रमणको तारो बनाएका छन् ।
बेलायतमा पनि यो समस्या देखिएको छ । बेलायतमा भने ह्याकरहरूले आइफोन ठिक गर्न २० स्टर्लिङ पाउन्ड माग गरेको बताइएको छ ।
प्रयोगकर्ताले सफारी ब्राउज गर्दा स्क्रिनमा यस्तो नोटिफिकेसन देखिने बताए, ‘वार्निङ ! आइओएस क्र्यास रिपोर्ट ! ड्यु टु अ थर्ड पार्टी एप्लिकेसन इन योर डिभाइस, आइओएस इज क्र्यास्ड । कन्ट्याक्ट सपोर्ट फर इम्मेडिएट फिक्स ।’
अन्य कतिपयले भने यस्तो नोटिफिकेसन आएको बताए, ‘देयर इज अ प्रोब्लम विद द कन्फिगुरेसन अफ योर आइओएस । प्लिज कल एप्पल टेक्निकल सपोर्ट ।’ केहीले त्यसपछि पप–अपले ब्राउजर नै ह्याङ गरेको बताए ।
ह्याकरले पप–अपमा क्र्यास फिक्स गर्न अमेरिकामा ०८००२७९६२११, ०८००६५२४८९५ र बेलायतमा ०८००३१०१०६१ फोन नम्बर दिएका छन् ।
एप्पल सपोर्ट फोरमका अनुसार ह्याकरले दिएका नम्बरमा फोन गर्दा कुनै तेस्रो पार्टीले उनीहरूको डाटा चोरिरहेको र त्यसलाई ठिक गर्न क्रेडिट कार्डको विस्तृत जानकारी मागेको बताइएको छ ।
अमेरिकामा गत वर्ष नोभेम्बरमा यो घटना पहिलो पटक सार्वजनिक भएको थियो । तर अझै पनि यो प्रयोगमा आइरहेको छ र अहिले बेलायतमा पनि फैलिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।