काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिम विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपको तयारीका लागि आइतबार भारत जाने भएको छ।
१८ सदस्यीय नेपाली टिमले भारतको चेन्नईमा १० दिन अभ्यास गर्ने नेपालका मुख्य प्रशिक्षक जगत टमाटाले नेपाल लाइभलाई जानकारी दिए। टमाटाका अनुसार चेन्नईमा रहँदा नेपालले स्थानीय टिमसँग कम्तीमा ४ वटा अभ्यास खेल खेल्नेछ।
‘चेन्नईको एकेडेमीमा प्रशिक्षण लिने पक्का भएको छ, ’ टमाटाले भने, ‘त्यहाँ रहँदा हामीले कम्तीमा ४ वटा अभ्यास खेल खेल्नेछौं।’
चेन्नई भ्रमणमा लाग्ने खर्च अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले बेहोर्नेछ। नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेपछि नेपाली टिमको व्यवस्थापन आइसिसीले गर्दै आएको छ।
सिनियर टिममा यू–१९ का सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी पनि छन्। सन्दीप र दीपेन्द्र अहिले एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताका लागि मलेसियामा छन्। प्रतियोगिता सकिएलगत्तै दुवै मलेसियाबाटै चेन्नई पुग्नेछन्।
१० दिनको प्रशिक्षणपछि नेपाली टिम दसैंको फूलपातीमा नेपाल फर्कनेछ। भारत भ्रमणपछि १८ मध्ये १४ खेलाडी अन्तिम टोलीमा पर्नेछन् भने ४ खेलाडीलाई वैकल्पिकमा राखिनेछ। दसैंपछि १० दिन अभ्यास गरेपछि नेपाल हङकङ उड्नेछ।
डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबीच आगामी १३ र १५ अक्टोबर (असोज २७ र २९) मा प्रतिस्पर्धा हुँदैछ।
डब्लुसिएलको पाँचौं चरणको खेल सकिँदा नेपाल ८ अंक जोडेर छैटौं स्थानमा छ। शीर्ष स्थानको नेदरल्यान्ड्सको १६, दोस्रो स्थानको पपुवा न्युगिनीको १४, तेस्रो स्थानको स्टकल्यान्डको १३, चौथो स्थानको हङकङको ११ र पाँचौं स्थानको केन्याको १० अंक छ। नेपालभन्दा तल रहेका नामिबिया र यूएईको समान ४–४ अंक छ।
नेपालका लागि शीर्ष ४ मा रहेर एक दिवसीय विश्वकप छनोट खेल्न हङकङसँगको खेल महत्वपूर्ण छ।
कोको छन् नेपाली टोलीमा?
-
पारस खड्का (कप्तान)
-
ज्ञानेन्द्र मल्ल
-
शरद भेषावकर
-
वसन्त रेग्मी
-
मेहबुब आलम
-
सोमपाल कामी
-
सागर पुन
-
विनोद भण्डारी
-
करण केसी
-
जितेन्द्रकुमार मुखिया
-
सुशील कँडेल
-
कुशल भुर्तेल
-
ललित भण्डारी
-
सुसन भारी
-
नरेश बुढाएर
-
मोहमद आरिफ शेख
-
दीपेन्द्रसिंह ऐरी
-
सन्दीप लामिछाने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।